२२ कात्तिकसम्म ढुक्क छन् प्रधानन्यायाधीश जबरा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२२ कात्तिकसम्म ढुक्क छन् प्रधानन्यायाधीश जबरा

cholendra-jabara

काठमाडौं । सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २२ कात्तिकसम्म ढुक्कले पदमा रहन पाउने भएका छन् ।

आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा छलफल चलिरहेको र तिहारअघि बुधबारसम्म मात्र अदालत खुल्ने भएकाले मोडालिटीको छलफल तिहार बिदापछि घनीभूत हुने सर्वोच्च अदालतका एक न्यायाधीशले बताएका छन् । 

सम्मानजनक बहिर्गमनको मोडालिटी र समयमा प्रधानन्यायाधीश जबरा र असन्तुष्ट १९ जना न्यायाधीशहरूको फरक फरक मत छ । न्यायाधीशहरूको तर्फबाट बनेको वार्ता समितिसँग जबराले केही दिन न्यायीक सुधारका लागि समय मागे पनि न्यायाधीशहरूले बहिर्गमन मितिको सुनिश्चितता खोजेका छन् । तर जबराले भने आफू इजलासमा नबस्ने र बन्दीबाहेकका मुद्दामा पेसी नतोक्ने प्रतिबद्धतामात्र जनाएका छन् । 

यसका अतिरिक्त उनले संवैधानिक बहिर्गमनको कुरा राखेर आफ्नो विवादलाई संसद् छिराउन खोजेको न्यायाधीशको आशंका छ । यो आशंकामा वार्ता समितिले आज र भोलि जबरासँग कुराकानी गर्नेछ । यसबीचमा आजका लागि बन्दीका मुद्दामात्र पेसी चढेका छन् भने तिहारअघिको बाँकी एकदिन (बुधवार) पनि बन्दीका मुद्दामात्र पेसीमा राख्ने उनको प्रतिबद्धता छ । 

‘बुधबारपछि तिहारको बिदा सुरु भइहाल्छ, २२ गते अदालत खुलेपछि फेरि घनीभूत छलफल हुन्छ, त्यसबेलासम्मका लागि उहाँबाट अब निकास नआउने नै भयो,’ असन्तुष्ट एक न्यायाधीशले न्युज कारखानासँग भने । 

उनका अनुसार तिहार बिदालगत्तै असन्तुष्ट न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध नयाँ ढंगको आन्दोलनमा उत्रने छन् । तर यसको मोडालिटीमा भने न्यायाधीशबीच छलफल सकिएको छैन । ‘आज र भोलि छलफल हुन्छ, त्यसपछि उहाँ (प्रधानन्यायाधीश) को मुड हेरेर हामी नयाँ ढंगले चल्छौ नै,’ ती न्यायाधीश भन्छन् । 

न्यायाधीशहरूको आन्दोलनसँगै नेपाल बारले पनि तिहारअघिसम्मका लागि अदालतमा कालोपट्टीसहित प्रदर्शन गर्ने, जबराको इजलास बहिष्कार गर्नेलगायतका कार्यक्रम गरिरहेको छ । बारले तिहारपछि आफूहरू जबराविरुद्ध निर्णायक आन्दोलनमा जाने घोषणा गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);