यी उम्मेदवार, जसले आफैलाई मतदान गर्न पाउँदैनन् | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

काठमाडौँ, १९ कार्तिक । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन। यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन्।

कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न पाउनुहुन्न। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचनअघि सधैँ झापामा मतदाता हुनुहुन्थ्यो। स्थानीय निर्वाचनअघि उहाँले मतदाता नामावली भक्तपुरमा सार्नुभएको हो।

ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सार्नुभएको छ। तर, ओली झापा ५ बाट चुनावी मैदानमा हुनुहुन्छ। उहाँले यस पटक आफैले आफैलाई मत दिन पाउनुहुन्न। एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता हुनुहुन्छ। तर, उहाँ पनि काठमाडौँ २ बाट उम्मेदवार हुनुहुन्छ। नेता नेपालले पनि प्रतिनिधिसभा निर्वाचनमा आफैँलाई मत दिन नपाउने नेतामा पर्नुहुन्छ।

काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ। तर, शर्मा काठमाडौँको चुनावी मैदानमा हुनुहुन्छ। शर्माले आफ्नो मतदाता नामावली गृह जिल्लामै कायम रहेको बताउनुभयो। उहाँले पनि आफूलाई मत दिन पाउनुहुन्न। आजको गोरखापत्रमा खबर छ।

ताजा समाचार