मतदान केन्द्रको डिजाइन परिवर्तन, तीन मतपत्रका लागि अलग-अलग मतपेटिका | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ। आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ।

आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्‍याउनुपर्नेछ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदान प्रक्रियालाई मतदातामैत्री बनाउन मतदान केन्द्रको व्यवस्थापन परिमार्जन गरिएको बताए । यसअघि दुइटा मतपत्र र दुइटै मतपेटिकाबाट चुनाव गराउने तयारी भएकामा त्यहीअनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो । मतपत्र तीनवटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो ।

यस्तो छ मतदान प्रक्रिया

मतदान केन्द्र प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावली रुजु गराउनेछन् । मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ । मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउनेछन् । पहिलो घेरा (गोप्य कक्ष) प्रवेश गरी स्वस्तिक चिह्न लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाउनेछन् । त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन् ।

तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउनेछन् । त्यहाँ पनि गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन् । समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिह्नमा स्वस्तिक चिह्न लगाएर त्यहाँ अलग्गै राखिएको मतपेटिकामा खसालेपछि मतदान सकिन्छ । आजको कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);