झापा । गौरीगञ्ज-१ का चन्द्रप्रसाद राई बुधबार कनकाई माईको बाढी हेर्न नदी किनारामा पुगेका थिए । वारि रहेका उनले टापुजस्तै बनेको गौरीगञ्ज-१ हुकलबारीका स्थानीयलाई बोलाए । नदी सुसाएको ठूलो आवाजले पारि रहेका स्थानीयले सुनेनन् । बरू एकअर्कालाई हेराहेर गरेर हातका इसाराले कुरा गरे ।
लगातार परेको बेमौसमी वर्षाले हुकलबारी डुबानमा छ । कनकाई माईले दुईतिरबाट कटान गर्दा हुकलबारी वरिपरिबाट घेरिएको छ । बीचमा रहेको टापुमा ८५ परिवार छन् । त्यहाँका घरहरूमा बस्न नसक्ने गरी पानी जमेको छ । तर, चारैतिरबाट नदीले घेरिएपछि उनीहरू बाध्य भएर त्यहीँ बसेका छन् ।
चन्द्रप्रसादका आफन्त धेरै त्यही बस्तीमा छन् । कतै आफ्न्तलाई आपत नै पर्यो कि भनेर उनी नदी किनारा आएका हुन् । ‘दिदीको परिवार पारि नै छ । हिजोसम्म त सम्पर्क हुँदै थियो । कनकाई माईले बिजुलीका पोल लडाएछ । उता लाइन पनि छैन,’ उनी भनछन्, ‘मोबाइल अफ भएछ । फोन लाग्नै छाड्यो । हिजो त सबै घर डुबानमा परेको छ भन्दै थिए । अहिले त न यहाँबाट बोलाएको सुनिन्छ न त फोनमा कुरा हुन्छ ।’
चन्द्रप्रसादलाई आफन्त नदीले घेरिएकोमा चिन्ता त छँदैछ, त्यहीँमाथि उनको खेतमा पनि माई नदी बग्न थालेपछि चिन्ता झनै थपिएको छ । ‘अहिले माईको भंगालो बगिरहेको ठाउँमा मेरो डेढ बिघा खेत थियो । अहिले त बगर भएछ,’ उनी भन्छन्, ‘०५२ सालमा पनि यसरी नै खेत बगर भएको थियो । घर बगाएर म यहाँ वारि आएर बसेँ । ०७२ देखि खेती सुरु गरेका थियौँ । फेरि उस्तै गरी बगायो ।’
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार हुकलबारीको ८५ घरमध्ये करिब ६० घर डुबानमा छ । स्थानीय पानी नभएको घर र चर्चमा बसिरहेका छन् । तर, बस्तीसम्म पुग्ने अवस्था नरहेको चन्द्रप्रसाद बताउँछन् । ‘यहाँ भएको बाँसको पुल पनि बगाएछ । गाउँमा जाने एउटा डुंगा थियो । त्यो पनि बगाएछ,’ उनी भन्छन्, ‘चारतिर पानी छ । कतैबाट जान सक्ने अवस्था छैन । यस्तोमा त डुंगा पनि जान मुस्किल छ । जानै पर्यो भने त हेलिकोप्टर नै चाहिने रहेछ ।’
नदीवारिका बिरस लिम्बूको ससुराली र खेती पनि उतै छ । उनलाई पाक्न लागेको खेत उठाउने आस मरेकाे छ । तर, आफन्त कसरी बसेका छन् भन्ने चिन्ता उस्तै छ । ‘सम्पर्क नभएको दुई दिन भयो । के खाएर बस्नुभएको होला ?,’ उनी भन्छन्, ‘सक्ने भए पनि यो बंगालो तरेर जानु झैँ लाग्छ । तर, सकिँदैन ।’ नदीले घेरेकै बेलामा कोही बिरामी भयो भने के होला भन्ने चिन्ता छ, उनलाई । ‘यो बेला कोही साह्रै बिरामी भयो भने के होला ?,’ उनी भन्छन्, ‘सरकारले जसरी पनि उनीहरूको उद्धार गरोस् ।’
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले प्रहरीको टोली ‘स्टान्ड बाई’ रहेको बताए । उनले केही साह्रो परेर नजिकै रहेको सशस्त्र प्रहरीलाई उद्धारका लागि निर्देशन दिइएको बताए । ‘हामी त्यहाँ पुगेर निरीक्षण गर्यौँ । नजिकै सशस्त्र प्रहरीको बिओपी छ । समस्या भएमा तत्काल उद्धार गर्न भनेका छौँ,’ उनले भने, ‘जनप्रतिनिधि पनि फिल्डमै हुनुहुन्छ ।’ प्रजिअ तिमल्सिनाले गाउँपालिकाको समन्वयमा चाउचाउ, भुजालगायत खाद्यन्न डुंगामार्फत लैजाने तयारी भइरहेको बताए ।