जाजरकोट । उपल्लो डोल्पामा गत हिउँदमा लगाएको बाली थन्काउने चटारो शुरु भएको छ । अत्यधिक चिसोका कारण अन्नबाली ढिला पाक्ने भएकाले बैशाखमा लगाएको बाली (उवा) ६ महिनापछि असोजमा भित्र्याइन्छ ।
वर्षैभरिजसो चिसो हुने र पानी पनि कम पर्ने भएकाले बाली पाक्न ढिला हुने डोल्पोबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिए । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पा अहिले उवा पाकेर पहेलपुर बनेको छ । पाकेको बाली भित्र्याउन यहाँका किसान बिहानदेखि बेलुकीसम्म खेतबारीमै व्यस्त छन् ।
उवा भित्र्याउन गाउँभरि एकै साइत कुर्ने चलन छ । उपल्लो डोल्पाको सिमेन र भिजेर गाउँमा मात्रै गहुँ उत्पादन हुन्छ । अन्य ठाउँमा भने उवा धेरै फल्छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ पाक्न ६ महिनासम्म लाग्छ ।
उवाको रोटी, सातु र अन्य परिकार बनाइन्छ । सरकारी अनुदानको चामल डोल्पमा नियमित नआइपुग्ने भएकाले उवालाई नै बाँडीचुडी खाने गरिन्छ । यहाँ चामल पुगे पनि धेरै महंगो हुन्छ । कात्तिकको अन्तिमदेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा फेरि हिमपात शुरु हुने भएकाले पनि सर्वसाधारण उवा भित्र्याउन हतार गरिरहेका छन् ।
उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि नियमित छैन । स्थानीय बजारमा चामललाई प्रतिक्वीन्टल १६ हजारसम्म पर्छ । तर पनि राम्रो चामल पाइदैन । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने गुरुङले बताए । यसवर्ष पानी धेरै परेका कारण उत्पादन बढ्ने अनुमान स्थानीयको छ ।