काठमाडौं । साविक लिग विजेता हेल्प नेपालले राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी छैटौं संस्करणको च्याम्पियनसिपको दोस्रो दिन सोमबार हेल्प नेपालले विजयी सुरुवात गरेको हो । भारतीय दुई खेलाडीको प्रभावशाली प्रदर्शनसँगै हेल्प नेपालले बागमती क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
बागमतीलाई २५–१६, २५–१३, २५–१२ सेटमा पराजित गरेसँगै समूह ‘ए’ मा हेल्प नेपालले एक खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ । साविक विजेता हेल्प नेपालले भारतीय ओलम्पिक टोलीका कप्तान बिनितकुमारसहित तीन खेलाडीलाई कोटमा प्रवेश गराउँदा सहज जित पायो ।
दोस्रो खेलमा गल्कोट स्पोर्ट्स क्लबले प्रदेश २ लाई हराउँदै २५–२३, २५–२१, २५–१८ प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । गल्कोटले यो दोस्रो जित हो ।
जितसँगै समूह ‘ए’ को गल्कोटले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि गल्कोटले बागमती प्रदेशलाई सोझो सेटमा हराएको थियो ।
बागमती भने दुई खेलबाट अंकविहिन रहेको छ । प्रतियोगिताको दोस्रो दिन आज ६ खेल हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ ८ टोली सहभागी छन् । च्याम्पियनसिपबाट चैतमा हुने एनभिए लिगमा पुरुषतर्फ ७ र महिलातर्फ ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।