पोखरा । पोखराका पर्यटकीय गन्तव्य सुनसान छ, जतिवेलादेखि कोभिड संक्रमण सुरू भयो । पहिलो लहर छोडेर दोस्रो लहर नआउँदासम्म केही आश थपेको पर्यटन नयाँ भेरियन्टले सखाप बनायो । लामो समय थलिएको यहाँको पर्यटकीय क्षेत्रहरू विस्तारै चलायमान बनाउने तयारीमा छन्, पर्यटन व्यवसायी । व्यवसायीहरुले असोज पहिलो सातादेखि पर्यटन सम्बद्ध सबै गतिविधि खुला गर्ने तयारी गरिरहेका छन् । तर खोप र सरकारको मौद्रिक नीतिले साथ दिइरहेको छैन ।
‘कोरोना संक्रमण अब घट्छ । पर्यटन क्षेत्र थुनेर राख्नुहुन्न । सबै गतिविधि खोल्नुपर्छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई भन्छन्, ‘स्वास्थ्यलाई नजर अन्दाज नगर्ने, व्यवसाय खोल्ने ।’ सरकारले पोखराका ३० प्रतिशत पर्यटन व्यवसायीलाई कोभिडविरुद्धको खोप वितरण गरिसकेको छ । गण्डकीका २० प्रतिशत हाराहारी व्यवसायी र मजदुरले खोप पाएको पर्यटन सम्बद्ध संघ संस्थाले जनाएका छन् ।
‘हाम्रो सेमिफाइनल दशैं तिहार र नयाँ वर्षमा फाइनल हुन्छ । तर, होटल खोलेको छु भनेर प्रचार गर्न मिलेन । पर्यटकीय गन्तव्यहरू सरकारले खोलिदिनुपर्छ,’ भट्टराईले भने, ‘सरकारले घुम्ने ठाउँ र देशको प्रोटोकल खुकुलो बनाइदियो भने पर्यटक आउन तयार छन् ।’
सम्पर्कमा रहेका पर्यटकहरुको प्रमुख चासो खोपमै केन्द्रित रहेको व्यवसायीहरु बताउँछन् । ‘धेरै पर्यटक क्लोज सम्पर्कमा हुनुहुन्छ । तर, भ्याक्सिनबारे प्रश्न गर्छन,’ होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘हामीले ढाँटेर बोल्न मिल्दैन । उनीहरु आउन आतुर छन् ।’ बेलैमा तयारी नगरे पर्यटकहरू नेपालबाट डाईभर्ट हुन सक्ने उनीहरुको चिन्ता छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल पर्यटन सुधार हुने विश्वास देखाए । ‘हाम्रा गन्तव्य सुरक्षित छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुग्यो भने पर्यटक आउँछन् । नेपाल अहिले पनि उनीहरुको रोजाईमा छ,’ उनले भने, ‘तर हामी पहिले आन्तरिक पर्यटनलाई जोड गरौं । पर्यटन चलायमान बनाउन आन्तरिक प्याकेज तयार गर्नुपर्छ ।’ कोभिडसँगै बाढीपहिरोका कारण गण्डकी क्षेत्रको गन्तव्यहरू झनै क्षति पुगेको छ । धेरै पदमार्गहरू भत्किएका छन् ।
यो वर्षको मनसुनमा मनाङ, मुस्ताङसहित उत्तरी भेगको पदमार्ग बढी क्षति भएको बताइएको छ । लकडाउन खुकुलो भएसँगै पोखरा र नेपालमै अड्किएका पर्यटकहरु घुम्न निस्किएका छन् । यद्यपि, होटल रेष्टुरेष्टहरू राम्रोसँग खुलेका छैनन् । कोरोनाको दोस्रो लहर सकिँदासम्म ४० प्रतिशतसम्म व्यवसायी विस्थापित अनुमान छ । होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल एजेन्सीलगायत अधिकांश व्यवसाय विस्थापित उन्मुख छन् । हालसम्म ३० प्रतिशत व्यवसायी र ६० प्रतिशत मजदुर विस्थापित भइसकेका अनुमानित आँकडा छ । पर्यटनलाई चलायमान बनाउन बन्जी, प्याराग्लाईडिङसँगै गाउँगाउँका होमस्टे र अन्नपूर्ण संरक्षण क्षेत्र खुला गर्नुपर्ने अध्यक्ष तुलाचनले बताए ।
सबै व्यवसायीहरु सरकारको नीति कुरिरहेका छन् । अब हुने सीसीएमसीको बैठकमा पर्यटनलाई प्राथमिकताका साथ खोल्ने निर्णय गर्न व्यवसायीको माग छ । रेष्टुरेण्ट एड बार एशोसियसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बराल होटल रेष्टुरेण्ट मात्रै खोलेर पर्यटक नआउने बताउँछन् ।
‘पर्यटन एउटा क्षेत्र मात्रै होइन । धेरै क्षेत्रहरुको कनेक्सनले मात्रै यो चल्छ,’ उनले भने, ‘एउटा क्षेत्र मात्रै बन्द हुँदा पनि त्यसको असर सिधै पर्यटनमा पर्छ । यो विषय सरकारले गम्भीरताका साथ सोच्नुपर्छ ।’ विषेशतः हवाइ र सडक मार्गलाई चुस्त बनाउन उनले आग्रह गरे । पोखराबाट पर्यटनलाई नै लक्षित गरि नेपालका विभिन्न प्रदेशमा हवाइ उडान थालिएको छ ।
हालसम्म नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरालगायत सहरमा सिधा उडान हुन्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । अहिलेको पर्यटकीय गतिविधिले आउँदो वर्षको सेप्टेम्बरमा पर्यटकहरू आउने विश्वास छ ।