संसदको शुक्रबारको बैठकमा १४ वटा अध्यादेश प्रस्तुत हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संसदको शुक्रबारको बैठकमा १४ वटा अध्यादेश प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा १४ वटा अध्यादेश पेस गर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्म तय गरिएको छ ।

यद्यपि, संसद सहज रूपमा चल्ने/नचल्ने भन्ने निश्चित भने छैन । बुधबार संसद अधिवेशनको पहिलो र दोस्रो बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच स्थगित भएको थियो । तेस्रो बैठकमा अवरोधका बीच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश पेस गरेर स्थगित भएको थियो । कार्यसूची सार्वजनिक हुँदासम्म एमालेले बैठक चल्ने दिने निर्णय गरिसकेको छैन ।    

एमालेले अवरोध नगरेमा भोलि अपराह्न १ बजे तोकिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा रेलवे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्नेछन् ।   

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश, २०७८ पेस गर्ने कार्यतालिका छ ।  

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले औषधि (तेस्रो संशोधन) अध्यादेश, कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले उल्लेख गरेका छन् ।

दुइटा शोक प्रस्ताव 

सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पारित गर्ने पनि तय गरिएको छ । एमालेबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य महेन्द्र शेरचन र माओवादीबाट संविधानसभामा निर्वाचित जुठबहादर खड्गी (जेबी टुहुरे)को निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यतालिका छ ।

त्यसैगरी विभिन्न सांसदले अध्यादेशविरुद्ध प्रस्ताव पेस गर्ने कार्यतालिका पनि रहेको छ, जसमा प्रेम सुवालले १३ वटा अध्यादेशविरुद्ध र दुर्गा पौडेलले नागरिकता अध्यादेश अस्वीकार गर्न सूचना प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);