काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि छुट्टयाइएको छात्रवृत्ति दूरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरु मानबहादुर विश्वकर्मा, अञ्जना विशंखे, विद्या भट्टराईलगायतका सांसदहरुले चिकित्सा शिक्षा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि व्यवस्था गरिएको छात्रवृत्तिमा दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेत समेत गराएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पु¥याउने गरी आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनले चिकित्सा क्षेत्रको परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग माग गरे । यो ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विश्वकर्माले गरिब र जेहेन्दार वर्गका लागि छुट्टयाइएको छात्रवृत्तिमा चलखेल गर्ने काम हुन नदिन सरकारलाई सचेत गराए । उनले सबै समूदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानुनी व्यवस्थालाई समेत बेवास्ता हुने गरी चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न पनि सरकारसँग माग गरे ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरुलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरी ऐन बनाउन सरकारको ध्यानाकर्षण गराईन् । उनले पिछडिएका क्षेत्रको उत्थानका लागि सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समूदायका लागि छुट्टयाइएको छात्रवृत्ति दूरुपयोग हुन नदिन आफूहरु सचेत रहेको बताए । उनले मेडिकल शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि आयोगको तर्फबाट सक्दो पहल भईरहेको पनि समितिलाई जानकारी गराए ।
उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तरगतका परीक्षाहरु संचालनमा ढिलाई नहुने गरी अघि बढने प्रतिवद्धता व्यक्त गरे । मंसिर पुसभित्र सो संस्थान अन्तरगतका सबै परीक्षाहरु लिने गरी सरोकारवाला पक्षहरुसँग छलफल गर्ने कामलाई अघि बढाइएको पनि उनले बताए ।