रोकिएन अवैध अमेरिका प्रवेश, केही नेपाली अझै मेक्सिकोमै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

गैरकानुनी तरिकाले अमेरिका पुगेका दुई नेपाली परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग कुरा गर्दै। उनीहरुकै आग्रहमा दुवैको मुहार छोपिएको हो  अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन।

अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन्।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन्। बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन्।

तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ। ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने।

अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने। आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं।

दु:ख निकै पाइयो। धेरै पैसा खर्च भयो। दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै (२०/२५ लाख) भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं।’

हामीले सम्बन्धित मुलुकसँग सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने, तथ्यांक राख्ने र पीडितका समस्या फुकाउने काम गरिरहेका छौं : डा. अर्जुन कार्की, राजदूत। आजको कान्तिपुर दैनिकमा खबर छ।