एजेन्सी । अफगानिस्तानको विद्रोही समूह तालिबानले आफ्ना सयौँ लडाकु पन्जशीर उपत्यकातर्फ गएको जनाएको छ । तालिबानको नियन्त्रणमा अझै नरहेको अफगानिस्तानका केही क्षेत्रमध्येको पन्जशीरमा आइतबार राति तालिबानले आफ्ना लडाकु त्यसतर्फ पठाएको हो ।
तालिवानले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै पञ्जशीर शान्तिपूर्ण रुपमा दिन स्थानीय अधिकारीले अस्विकार गरेपछि इस्लामिक इमिरेट्सका सयौं मुजाहिदीनहरु पञ्जशीर नियन्त्रणका लागि अघि बढेको उल्लेख गरेको छ ।
राजधानी काबुलको उत्तरमा रहेको पन्जशीर तालिबानविरोधीहरूको गढको रूपमा चिनिन्छ । जहाँको नेतृत्व अहिले पूर्वमुजाहिदीन कमान्डर अहमद शाह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन् ।
मसूदको नेतृत्वमा रहेको तालिबान विरोधी बलले तालिबानसँग लड्न करिब ९ हजार मानिस जम्मा गरेको दाबी गरेको छ ।




