एजेन्सी । अफगानिस्तानको विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेको छ ।
अफगानी गृहमन्त्रालयले तालिबानी लडाकुहरु काबुलमा प्रवेश गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अफगानिस्तानका मुख्य शहरहरु कब्जा गरिरहेको तालिबान आइतबार सबैतिरबाट काबुल प्रवेश गरेका हुन् ।
यसअघि आइतबार बिहान तालिबानले महत्वपूर्ण शहर जलालावाद पनि कब्जा गरेका थिए । जलालावादका सुरक्षाकर्मीले प्रतिकार नगरी छोडिदिए पछि जलालावादमा तालिबानले कब्जा जमाएको हो ।
तालिबानी लडाकुहरु काबुल प्रवेश गरेसँगै अमेरिकी दुतावासका कर्मचारीहरुले काबुलको विमानस्थलबाट काम गरिरहेको र अन्य पश्चिमा मुलुकहरुले आफ्ना नागरिक तथा कर्मचारीहरु फिर्ता लान हतारो गरिरहेका छन् ।
यसैबीच तालिबानले आइतबार दिउँसो एक वक्तव्य जारी गर्दै आफूहरू भिडन्त गर्दै काबुल नपस्ने बताएका छन् । शान्तिपूर्ण तरिकाले काबुल पस्नेबारे कुरा भइरहेको तालिबानको भनाइ छ । साथै कुनै पनि नागरिक र सैनिकहरूविरूद्ध आफूले बदला नलिने बरू उनीहरूलाई माफी गरिएको तालिबानको विज्ञप्तिमा उल्लेछ ।