काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् ।
ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् । बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताए । उनले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताए ।
उनले भने– “१४ औँ महाधिवेशनलाई नै फोकस गरेर छलफल ग¥यौं, किनभने १४ औँ महाविधवेशनको समय सिधिन लाग्यो, हामीले महाधिवेशन १०-१२ दिनमै सक्छौँ, यदि कांग्रेसको क्रियाशिल विवाद सकियो भने, हामीसँग अझै समय छ, छिटो भन्दा छिटो महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ भन्ने विषयलाई नै फोकस गरियो ।”
नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशिल सदस्यता दिनुपर्ने माग राखे । उनले जिल्लाका केही वडाहरुले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशिल सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग गरे ।
नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले कांग्रेसको १४ औं अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्ने बारेमा छलफल गर्नुपर्ने बताए । उनले बारा र सप्तरी जिल्लाका केही वडाहरुमा क्रियाशील सदस्यताहरुको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाए । उनले महाधिवेशन टार्नका लागि शीर्ष नेताहरुले बेवास्ता गरिरहेको बताए ।
नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशिल सदस्यहरुको विवाद नरहेको बताए । उनले सर्वपक्षीय रुपमा बनेको छानबिन समितिले सर्वपक्षीय रुपमै निर्णय गरेकोले विवाद नरहेको उल्लेख गरे । निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उनको गुनासो छ ।
नेपाल्ी कांग्रेस बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रुपमा बारा र सप्तरीका क्रियाशिल सदस्यहरुको फाइल खोल्नुपर्ने सुझाव दिए । उनले विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्ने माग राखे ।