काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा बोल्दै उहाँले बजेट बक्तव्यमा समावेश गरिएका सबै कार्यक्रमका लागि बजेटको व्यवस्था नभएको प्रष्टयाएका हुन् ।
बजेटमा देशभर १२ स्थानमा स्मार्ट सहर बनाउने भनिएको छ तर बजेट १० लाखको दरले मात्र विनियोजन गरिएको उनको भनाई छ । ‘१२ अर्व बजट विनियोजन हुुनपर्नेमा जम्मा १ करोड मात्रै विनियोजन भएको छ ।’ सचिव सिंहले दुःखेसो पोखे ।
यस्तै हनुमानढोकादेखि स्वयम्भूनाथसम्मको सांस्कृतिक पदमार्ग निर्माण गर्ने भनेर बजेट वक्तव्यमा भनिएको छ तर रकम विनियोजन भएको वार्षिक कार्यक्रममा त्यस्तो कुनै कार्यक्रम नै समावेश नभएको सचिव सिंहले जानकारी दिए । उनले उपत्यकाको यस्ता धेरै आयोजनाको घोषणा गरिएपनि स्रोत सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको स्पष्ट पारे ।
सरकारले ल्याएको बजेट वक्तव्य हेर्दा कार्यक्रम थपिएको, बजेट बढेको जस्तो देखिएपनि कार्यक्रममा रकम नै विनियोजन नभएको सहरी विकास मन्त्रालयको स्पष्टिकरण छ ।