काठमाडौं । राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाउनुपर्ने बताएकी छन् ।
शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरुको प्रयोग गर्नुपर्ने बताईन् । उनले स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै ति संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाहरुको गुणस्तर बढाउनुपर्ने बताईन् ।
भट्टले भनिन् – ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिले दुईवटा ठुला चुनौती छन् । एक, कोभिडको नियन्त्रणमा आफ्नो सम्पूर्ण संरचनाहरुको भरमग्दुर पूर्ण रुपले प्रयोग र परिचालन गर्ने । दोस्रो, आफ्ना तिनै कमजोर संरचनाहरुलाई सुदृढीकरण गर्ने र क्षमता अभिवृद्धि गर्ने र सरकारी स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाई जनताको विश्वसनीयता बढाउने । जसले गर्दा नेपालीहरुको आउट अफ पकेट खर्च घटोस् । यसो हुन सके स्वास्थ्य सहि बाटोमा हिडेको मान्न सकिन्छ । अहिले कुल बजेटको सात प्रतिशतभन्दा माथि बजेट छ तर यसको कार्यान्वयनमा ठुलो चुनौती छ ।’
राष्ट्रिय सभा सदस्य भट्टले नेपाली जनताले विकासको व्यग्र चाहाना राखेको उल्लेख गर्दै सरकारलाई विकासको काम गर्न ध्यानाकर्षण गराईन् । सरकारले सुशासनको प्रवर्दन गर्न आवश्यक रहेको उनले बताईन् ।
चुनावका बेलामा गरेका प्रतिवद्धता र पन्ध्रौँ पञ्चवर्षीय योजना हेरेर काम गर्न पनि उनले सरकारलाई सुझाव दिईन् । उनले भनिन् – ‘अहिले नेपाली जनतामा विकासको व्यग्र चाहाना छ । हामीसँग स्रोत साधनको कमी छ । र भएको स्रोत साधनलाई पारदर्शी ढंगले कार्यान्वयन गर्न सकिए विश्वास सिर्जना हुन्छ । यसको लागि सुशासनको प्रवद्र्धन गर्नु नितान्त आवश्यक देखिन्छ । र सुशासनको प्रवद्र्धन बिना हामी दिगो विकासको परिकल्पना गर्न सक्दैनौँ । हामीले चुनावमा हाम्रा घोषणा पत्र बनाएको एक पटक हेरौँ । हाम्रो पन्ध्रौ पञ्च वर्षिय योजनाको कसरी कार्यान्वयन हुने हो, त्यसमा के के सुधारको आवश्यकता छ, त्यतातिर ध्यान जानु जरुरी छ ।’
राष्ट्रिय सभा सदस्य भट्टले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने श्रमिकहरुलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न पनि सरकार समक्ष माग गरिन् । बालकालिकाले इन्टरनेटको अधिकतम प्रयोग गर्दा उनीहरुलाई मनोवैज्ञानिक असर परेको भन्दै उनले पब्जि, फ्रिफायर लगायतका एप्लिकेशनहरु बन्द गर्न सरकारलाई अनुरोध पनि गरिन् ।