थापाथलीस्थित प्रसुती गृहमा ‘ह्यूमन मिल्क बैंक’ स्थापना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थापाथलीस्थित प्रसुती गृहमा ‘ह्यूमन मिल्क बैंक’ स्थापना गरिने

काठमाडौं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।

विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दे महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैंक स्थापना गर्न लागिएको जानकारी दिए ।

पराजुलीले भने, “कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरुको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो । जुन आमाको दूध तत्काल आउदैैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं । सो बैंक यसै वर्ष काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।”

महाशाखाले ‘ह्यूमन मिल्क बैंक’ मा दूध राख्नका लागि करिव १ करोडको मेसिन खरिद गर्ने तयारी गरेको छ । कार्यक्रममा महाशाखाले आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाईए कडा कारबाही गर्ने चेतावनी समेत दिए । उनले भने, “ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाईए त्यसउपर कडा कारवाही हुन्छ ।”

आइतबार सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । “हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी” भन्ने मूल नाराका साथ मनाउन मनाउन लागिएको स्तनपान सप्ताहमा सबै स्थानीय तहमा स्तपानको महत्व बारे जनचेतनामूलक कार्यक्रम गरिने छ ।

शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्नुपर्ने विषयबारे एकसाता सम्म विभिन्न जनचेतनामुलक कार्यक्रम गरिने छ । स्तनपान संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);