चितवन । चितवनको भरतपुर महानगरपालिका १७ मा मृत भेटिएका नेपाली सेनाका भरत गुरुङको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज शुक्रवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौलीबाट पक्राउ गरेको बताएको हो ।
मृतक गुरुङ र पक्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा कार्यरत दिए । ढकाल सैनिक जवान हुन् । पैसाको लागि ढकालले गुरुङ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए ।
पक्राउ परेका ढकाल २ गते मृतक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए । एसपी अधिकारीका अनुसार ढकालले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए ।
पक्राउ परेका ढकालसँग सोधपुछका क्रममा उनले आफुलाई निर्दोष प्रमाणित गर्न खोजे पनि थप सोधपुछका क्रममा उनले आफ्नो संलग्नता स्वीकार गरेको एसपी अधिकारीले बताए । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।
मृतक गुरुङका १२ वर्षीय छोरा छन् । श्रीमतिसँग भने सम्बन्धबिच्छेद भइसकेको छ । जग्गा किनेर घर बनाएपछि उनी अर्को बिहे गर्ने योजनामा रहेको भातिजी गुरुङले बताईन् । हिजो टाउकोमा गोली लागेको जस्तो अवस्थामा गुरुङको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलटाडा नजिक नहरमा भेटिएको थियो ।