काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एमाले नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको कुरा गलत भएको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले नेता नेपाललाइ प्रधानमन्त्रीको प्रस्ताव गरेको कुरा गलत भएको बताएका हुन् ।
नेता नेपालले गएको शनिबार गठबन्धनको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्विकार गरेको बताएका थिए । उनले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आईसकेको तर विपक्षी गठबन्धनलाई धोका नदिने बताएका थिए ।
उनको यही भनाईलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूले नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्नु गलत प्रचार मात्र भएको बताएका छन् । उनले आफूलाई ‘‘बौलाह कुकुरले तोकेको छ र’’ भन्दै व्यंग्य समेत गरेका छन् । साथै प्रधानमन्त्री ओलीले नेता नेपाल माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल नेपालको कार्यकर्ता मात्र भएको टिप्पणी समेत गरेका छन् ।