काठमाडौं, १ कार्तिक । स्याङ्जाको साविक सिलुङदेउराली ८, ठाडाखेत भौगोलिक हिसाबले बिकट मानिन्थ्यो। साविक पुतलीबजार नगरपालिका र खिलुङको सिमाना हेलु बजारबाट पुल तरेपछि कुनेटोमा रहेको खेत अहिले औद्योगिक क्षेत्रको रुपमा विस्तार भएको छ।
वरीपरी पहाड तथा जंगलले घेरिएको भूभागबीच समथर खेतको काल्नाबाट बगेको दरौं खोलाको व्यवस्थापन गर्दै गाउँमा उद्योग सञ्चालन गरेर युवा उद्यमी खुमाप्रसाद अर्याललगायत समूहले युवालाई रोजगारी दिएका छन्। पेसाले चार्टर्ड एकाउन्टेन्ट अर्याल राजनीतिमा पनि सक्रिय छन्। गाउँमा करोड रुपैयाँ लगानी गरेर उनी जिल्लामा हालसम्मकै ठूलो उद्योग बनाउन सफल भएका छन्।
भीरकोट नगरपालिका खिलुङ कालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाउँमा स्थापना गरिएको मुलुककै अत्याधुनिक ‘लेयर्स कुखुरा फार्म’ चार वर्षदेखि सञ्चालनमा ल्याइएको छ। जर्मनी प्रविधि ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित उक्त फार्ममा दुई लाख लेयर्स कुखुरा अटाउने क्षमता छ।
पूर्ण स्वचालित उक्त ब्याट्री केज कुखुरा फार्मबाट अन्डा उत्पादन सुरु भइसकेको छ । जर्मनीको आधुनिक प्रविधिद्वारा सञ्चालित फार्ममा लक्ष्यअनुरुप अन्डा उत्पादन सुरु भएको छ। मुलुककै पहिलो स्वचालित एग्रो फार्मबाट हाल दैनिक एक लाख ४० हजारभन्दा बढी अन्डा उत्पादन हुने गर्दछ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।