काठमाडौँ, ३१ असोज । इराकको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएपछि अमेरिकी विदेश मन्त्रालयले शान्त हुन आह्वान गरेको छ। विदेश मन्त्रालयकी प्रवक्ताले थप झडपहरु नगर्न सबै पक्षलाई आह्वान गरेकी छन्। उनले तथाकथित इस्लामिक स्टेट समूहलाई हराउन अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले एउटा महत्वपूर्ण उद्देश्यलाई विचलित पारेको बताइन्।
इराकको सरकार फौजले सैन्य कारबाही शुरु गरेको २४ घण्टा नपुग्दै किर्कुकको विवादास्पद सहरलाई कुर्दिस लडाकुहरुको नियन्त्रणबाट फिर्ता लिएका छन्। बख्तरबन्द गाडी सहरको केन्द्रमा प्रवेश गरेको छ र त्यहाँको स्थानीय सरकारको मुख्यालयमा इराकी झण्डा गाडिएको छ।
हजारौं सर्वसाधारणहरु त्यहाँबाट अन्यत्र गइसकेका छन्। पहिला सरकारी र कुर्द फौजलाई समर्थन गरिरहेको अमेरिकी सेनाले आफ्ना मतभेदहरुलाई वार्ताको माध्यमले समाधान गर्न पटकपटक आह्वान गरिरहेको बीबीसीले जनाएको छ।