काठमाडौं । वायुसेवा निगमले आपतकालिन अवस्थामा काठमाडौं बाहेक आकस्मिक उडानका लागि थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडान भर्न अनुमति दिएको हो ।
निगमका अनुसार त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने जनाएको हो । यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था थियो ।
सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै मंगलबारबाट लागु हुने गरी आन्तरिक सेड्यूल उडान बन्द गरेको छ बिहीबारबाट अन्तराष्ट्रिय सेड्यूल उडान बन्द हुनेछन् ।