बुटवल । लुम्बिनी प्रदेश सांसद विमलाकुमार खत्री नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । माओवादीमा उनको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने चुनौती थपिएको हो । उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी थिइन् । सवारी दुर्घटनामा पति उत्तरकुमार वलीको निधन भएपछि उक्त क्षेत्रमा उनी उपचुनाव लडेर विजयी भएकी हुन् ।
माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ। प्रदेशसभा संसद सचिवालय स्रोतले उक्त जानकारी आफूहरूले पाइसकेको र केहीबेरमै विवरण अद्यावधिक गरेर सूचना प्रकाशन गरिने बताएको छ ।
खत्रीले नेकपाबाट उपचुनाव जितेकाले उनको सांसद पद के हुन्छ भन्ने प्रष्ट छैन् । एमालले दल त्याग गरेको भनेर उनलाई कारवाही गरेमा उनको सांसद पद रिक्त हुने छ। माओवादीमा प्रवेश गरेकी खत्रीलाई कारबाही गर्न नमिलेमा विपक्षको ४१ मत हुन्छ जुन सरकार बनाउनका लागि चाहिने बहुमत हो । प्रदेशसभामा विपपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । सभामुखसहित विपक्षमा पनि उत्तिकै संख्या ४० हुन्छ ।