काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमणका कारण मारमा परेका आम नागरिकलाई आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै सभापति देउवाले कोभिड–१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्या आउन नदिन उचित राहत व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले निषेधाज्ञाका कारण अत्यन्तै आर्थिका मारमा परेका विपन्न असहाय नागरिकको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउनुपर्नेमा जोडदार माग गरेका छन् ।
सभापति देउवाले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको र संक्रमणसंगै आइसीयू, बेड तथा अक्सिजनको अभाव देखिन थालेको अवस्थामा सरकार गैर जिम्मेवार ढंगबाट मुखदर्शक बनेको आरोप लगाएका छन् ।