काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने भएको छ ।
सर्वोच्च अदालतको मंगलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले आजदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।
यो अवधिभर बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतले जनाएको छ ।
बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ ।
बाँकी थप निर्णय आवश्यकताअनुसार यही वैशाख ३१ गते बस्ने बैठकले तय गर्ने समेत अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।