काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले अप्रत्याशित रूपमा प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको भत्सर्ना गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारको यस्तो कदमलाई स्वेच्छाचारी प्रवृत्ति भन्दै विरोध जनाएको हो ।
वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं विषयबस्तु रहेको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति विपरित रहेको कांग्रेसको ठहर छ ।
साथै कांग्रेसले सरकारसँग कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलतालाई दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न मागसमेत गरेको छ ।
त्यसैगरि बैठकले क्रियाशिल सदस्यता बुझाउने अन्तिम मिति वैशाख १५ सम्म थप गरेको छ । आसन्न महाधिवेशनका लागि सुरु मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको अन्तिम सूची बुझाउन स्थानीय तहलाई वैशाख १५ सम्मको समयसीमा तोकेको हो ।