काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।
मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहसँगको समन्वयमा भने विद्यालय बन्द हुनसक्ने शिक्ष मन्त्रालयले निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसहितको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान र भिडभाड हुने क्षेत्र र क्रियाकलाप बन्द गर्न अपिल गरिसकेको छ । शुक्रबार नै काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक अथवा कर्मचारीमा कोरोना संंक्रमण पुष्टि भएका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका महानगर भित्रका विद्यालय एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो । तर संक्रमित फेला नपरेका विद्यालयहरु भने अभिभावकको सहमतिमा जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गरेर सञ्चालन गर्न महानगरले आग्रह गरेको छ ।