कोरोना महामारीले फेरि ढोका ढक्ढकाउन थाल्यो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोरोना महामारीले फेरि ढोका ढक्ढकाउन थाल्यो (भिडियाेसहित)

छिमेकी मुलुक भारत दोस्रो लहरको कोरोना संक्रमणको भुमरीमा छ । यसको असर खुल्ला सिमाना भएकै कारण पनि नेपालमा नपरि रहन सक्दैन । भारतमा कोरोनाको लहरले भयावह रुप लिंदै गर्दा रोजगारीका लागि त्यसतर्फ गएका नेपालीहरु स्वदेश फिर्तीको चाप पनि उतिकै मात्रामा बढ्नाले नेपाल झनै संकटमा पर्ने निश्चित छ । योसँगै सिमा नाकामा सरकारी स्तरबाट अपनाउनु पर्ने सावधानी नअपनाईएको देख्दा नेपालमा कोरोना जोखिम कतै कहाली लाग्दो त हुने हैन भन्ने आशंका पनि उतिकै बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकले पनि नेपाल कोरोना जोखिमको केन्द्र बन्न सक्ने सम्भावनालाई औंल्याएको छ । भारतमा रोजगारीका लागि गएका र अन्य काम बिशेषले भारत गएर फर्किएका नेपालीको तथ्यांक र उनिहरुसँग गरिएको एण्टिजेन परिक्षणको तथ्यांकलाई हेर्दा सरकारी निष्किृयतालाई छर्लंङ्ग पारिदिएको छ । आफैं स्वास्थ्य मन्त्रालयले तयार पारेको तथ्यांकका आधारमा भन्ने हो भने पश्चिम नेपालका गड्डा चौकी, कैलालीको त्रिनगर नाका, बाँकेको जमुनाहा र भैरहवाको बेलहिया नाका भएर पछिल्लो दुई सातामा भारतबाट नेपाल भित्रिनेहरुको संख्या १७ हजार भएपनि त्यसको १० प्रतिशतको मात्रै एण्टिेजेन परिक्षण गरिएको देखिएको छ ।

परिक्षण गरिएका १ हजार ६ सय ७१ जना मध्ये ६८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपाल कोरोना संक्रमणको थप संकटमा पर्ने सम्भावना बढेर गएको देखिएको छ । गत बर्ष सरकारले नेपाल भारत बिच तराईमा रहेका १४ नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको भएपनि त्यो निर्णयले निरन्तरता पाउन सकेको देखिएको छैन । हाल पाँच नाकामा मात्रै परीक्षणको काम भइरहेकै कारण परिक्षणको दायराबाट हटाईएका अन्य बाँकी नौ नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले कोरोना नभित्र्याउने भन्ने हुँदैन । त्यसैले पनि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको तुलनामा संक्रमितको संख्या अझ धेरै हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ ।

सुदुर पश्चिमका नाकाहरुमा गरिएको एण्टिजेन परिक्षण र त्यसबाट आएको नतिजालाई हेर्दा कोरोना दोश्रो लहरको केन्द्र सुदुर पश्चिम हुने निश्चित जस्तै देखिएको छ । भारतमा फैलिएको संक्रमण सहजै नेपाल प्रवेश गर्ने भएकै कारण यतिबेला सरकारको प्राथमिकतामा नाकाहरूको व्यवस्थापन जरुरी भइसकेको छ । भारतबाट आउने सबैको स्वास्थ्य परीक्षणलाई सरकारले अनिवार्य नै गर्नु पर्नेमा त्यस तर्फ सरकार चुकेको देखिएको छ । यस्तै नाकामा एण्टिजेन परिक्षणमा कोरोना पोजिटिभ देखिएकाहरु समेत सार्वजनिक यातायातमा खुलेआम यात्रा गरिरहनुलाई पनि सरकारको लापरवाहीकै रुपमा लिनुपर्ने हुन्छ ।

तिनको ब्यवस्थापन गर्नैका लगि पनि आइसोलेसनको ब्यवस्था भएको कतैपनि पाईएको छैन । सुदूरपश्चिमका नाकाबाट फर्किने र संक्रमित हुनेहरू धेरैजसो कैलालीको गोदावरी, लम्कीचुहा र धनगढी, कञ्चनपुरको गुलरिया, पुनर्वास र बेलौरी, अछामको मंगलसेन र साँफेबगर, डडेल्धुराको भागेश्वरी, डोटीको दिपालय, सिलगढी, पञ्चदेवललगायतका रहेका छन् । उनीहरू भारतको सुरत, मुम्बई, पन्जाब, पुणे, उत्तरप्रदेश, बाटिकालगायतका ठाउँबाट फर्किएको स्वयं स्वास्थ्य मन्त्रालयले बताएको छ । र यतिबेला भारतका ति शहर नै कोरोनाको दोश्रो लहरको चपेटामा परेको अबस्था छ ।

भारतमा दोस्रो चरणमा नयाँ भेरियन्टका रुपमा यतिबेला सिंगो युरोपलाई आतंकित बनाएको छ । युके भेरियन्ट देखिएको र नेपालमा त्यसका वाहकका रुपमा भारतबाट स्वदेश फर्किएकाहरु नै संक्रमित पाइएको छ । यस्तोमा सरकारले देखाएको लापरवाहीमा सुधार आबश्यक देखिएको छ । पछिल्लो समय कोरोना संक्रमणको जुन ग्राफ सार्वजनिक भईरहेको छ, त्यो पक्कै पनि सुखद हैन । र यसमा नियन्त्रणका सम्भव उपायहरु अपनाउन सरोकारवाला निकायले कतै ढिलाई त गरिरहेको छैन, यतिबेला उठेको यो प्रश्नको जवाफ आउन पनि आबश्यक भईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);