एजेन्सी, १९ चैत । भारतमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७२ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार काल्याण मन्त्रालयले जनाएको छ । भारतमा एकै दिन संक्रमित हुनेको यो संख्या गएको छ महिना कै उच्च हो ।
गत वर्षको अक्टोबर १० मा एकै दिन संक्रमित हुनेको संख्या झण्डै ७४ हजार पुगेको थियो । योसँगै भारतमा संक्रमितको कुल संख्या एक करोड २२ लाख २१ हजार ६सय ६५ पुगेको छ । भारतका जम्मा संक्रमितहरुमध्ये ७९ प्रतिशत, पाँच राज्यहरु महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाव र छत्तीसगढमा मात्रै रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा चार सय ५९ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा एक सय जनाभन्दा बढी हो । यस अघिको २४ घण्टामा तीन सय ५४ जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको जम्मा संख्या एक लाख ६२ हजार ९ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४० हजार ३ सय ८२ सहित भारतमा एक करोड १४ लाख ७४ हजार ६सय ८३ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाविरुद्धको खोप अभियानका बावजुत पनि संक्रमण तीब्र रुपमा फैलिरहेको छ । हालसम्म भारतमा छ करोड ५१ लाख १७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।