धनुषा, १२ चैत । रंग अबिरको पर्व होलीको मिथिलामा विशेष महत्व रहेको छ । धनुषाको होली महोत्सव अन्य ठाउँको तुलनामा निक्कै फरक हुने गर्दछ ।
अन्य ठाउँमा एक दुई दिन मात्र यो पर्व मनाउने गरिएको छ भने मिथिलामा १५ दिन अगाबैदेखि होरी गायन गाउँने परम्परा छ । तर ती परम्परा अब विस्तारै लोप हुने अवस्थामा छन् ।
मिथिलाको ग्रामिण क्षेत्रमा सरस्वती पूजा अर्थात श्रीपञ्चमीदेखि नै गाउँका भद्रभलादमी एक ठाउँमा जम्मा भई हाथमा डम्फा, ढोल, करताल र झुमर लिई होरी गीतसँगै जोगिरा गाउने परम्परा रहँदै आएको छ ।
यसअघि तराई—मधेशका जिल्लाहरुमा होरैया र जोगिराका धुनहरू मध्यरातसम्म सुनिन्थ्यो, तर अहिले त्यो विरलै हेर्न र सुन्न पाईन्छ । स्थानिय सँस्कृति भन्दा पाश्चात्य संस्कृतिले होरयौको स्थान लिईरहेका छन् ।
मौलिक तथा सामाजिक सद्भाव फैलाउने पर्व होली पर्वमा पहिलापहिला होरी र होरैया गाउनेहरुको प्रत्येक टोलबस्ती गाउँगाउँमा विभिन्न युवाहरुको टोली समिति हुन्थ्यो र समितिले गाउँभरी सबैको घरामा गएर होरी होरैया गाउने गर्थे ।
खासगरी होरी—होरैया मार्फत होली खेल्न गएको घरमा उक्त घरको वर्णन गर्दै आउनुको कारण खुलाएर होरि होरैया गाएर होली खेल्ने चलन छ । सभ्यता र संस्कृति संरक्षणमा सबैको हातोमालो आवश्यक रहेको संस्कृति संरक्षणमा लागेकाहरु बताउँछन् ।