काठमाडौं, ५ चैत । नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पूरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ ।
इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पूरा भएको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलले कृषि प्रविधिमा हासिल गरेको उपलब्धी नेपालको लागि युगान्तकारी हुने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स सुरु हुने पनि बताए ।
इजरायलले नेपालको कृषिको आधुनिकीकरणमा तालिम र प्रविधिमा सहयोग गर्दै आएको छ । नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स आगामी आर्थिक वर्षबाट सुरुहुन लागेको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथक रहेको बताउनुभयो । नेपाल र इजरायलबीचको सम्बन्धलाई अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ । दुई देशबिचमा साझा चुनौती रहेको भन्दै उनले नेपाललाई जहिले पनि सहयोग गर्न तयार रहेको बताए ।
१९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएलगत्तै मार्च १९६१ मा इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो । अहिले लाजिम्पाटमा रहेको दुतावाश ६० वर्ष देखि निरन्तर एकै स्थान र घरमा छ । १९६० मा नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमण गर्नुभएको थियो ।
इजरायल सरकारले नेपाली युवालाई कृषि, स्वास्थ्यजस्ता अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहका उच्च शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम दिइरहेको छ । यसै वर्ष देखि केयर गिभरको रुपमा कामदार लैजाने भएको छ ।