राजकुमार दिक्पाल
नेपाली इतिहासको एउटा अनौठो पात्रको नाम हो, स्वामी महाराज रणबहादुर शाह । मिथिला, जनकपुरतिरबाट पशुपति दर्शनका लागि आएकी एक विधवा ब्राहृमणीसँग भुतुक्क भएर उनको पिछा लागे । ती ब्राहृमणीले पनि आफ्नो कोखबाट जन्मेको सन्तानलाई राजा बनाउने हो भने मात्र आफू विवाह गर्ने सर्त अघि सारिन् । उनको सर्त पुरा पनि भयो ।
आफ्ना पूर्वविवाहिता रानी सुवर्णप्रभातर्फ पहिल्यै जन्मिएका दुई छोरा हुँदाहुँदै कान्तवतिकै छोरालाई सिंहासन सुम्पेर आफू स्वामी बनी निर्वाणानन्द कहिएर र कान्तवतिलाई स्वामिनी बनाई राजपाठ त्याग्ने राजा हुन्, यी । कान्तवतिलाई रोगले च्याप्दै लगेपछि उनी जिवितै हुँदा कान्तवतितर्फबाट जन्मिएका छोरा गीर्वाणयुद्ध विक्रम शाहको राज्याभिषेक गर्न पनि उनी पछि परेनन् । उनले नावालक छोरालाई वि.सं. १८५५ फागुन २८ गते मुकुट पहिरिदिए ।
कान्तवतिको उपचारका लागि विभिन्न देवदेवीका मन्दिरमा पूजा प्रार्थना गर्दा लाखौँ रुपैयाँ खर्च गरिएको थियो । वैद्यहरु अरोरात्र खटिएका थिए । अथक प्रयास वावजुद कान्तवतिलाई बचाउन सकिएन । उनको वि.सं. १८५६ कात्तिक १९ गते पशुपति आर्यघाटमा देहान्त भयो । वियोगले स्वामीमहाराज विछिप्त बने । रानीको चोलो गलामा गलाई तोपले आफैलाई हनाएर मर्छु भनी विलाप गरे । विभिन्न मन्दिरका मूर्तिहरु उखेल्न लगाए । देवस्थलहरुमा गुहु मूत छर्कन लगाएर फोहर बनाउन लगाए । (‘प्राचीन नेपाल’ सङ्ख्या २४–२०३० साउन, पृ. ६–७)
शौखिन थिए रणबहादुर शाह
अल्पायुमै आफ्ना पिता प्रतापसिंह शाहको देहान्त भएपछि रणबहादुर शाह सानै उमेरमा राजा भए । उनलाई आफ्ना पूर्वजले खडा गरिदिएको विशाल नेपालको शासनभारबारे विल्कुलै चिन्ता थिएन । नेपाल निर्माणका लागि उनले न पसिना बगाउनु परेको थियो, न जुक्तिबुद्धिको प्रयोग । उनी त सुखसयलमा रमाउन चाहन्थे । दरबारमा नयाँ नयाँ केटी भिÏयाउने, भेडा, साँढे, कुखुरा, बट्टाई जुधाएर हेर्ने यिनको रुची थियो । अझ साँढे जुधाउने खेल हेर्न यिनको विशेष रुची थियो । उनी ठाउँ ठाउँबाट गाई गोरु झिकाउँथे । सुदूर दक्षिण भारतदेखि बडेबडेका साँढे भिकाइएका थिए । साँढेहरुको औषधोपचार गर्न साँढे वैद्यहरु नियुक्त गरेका थिए ।
रङ्गशालामा दिनहुँ नाचगान चल्थ्यो । भारतका विभिन्न सहरहरुबाट गायक तथा नर्तक नर्तकीहरु झिकाइन्थे । उनलाई खुसी पार्न सुन्दरी युवतिहरु दरबारमा ल्याइन्थे । ज्यादै सुन्दरी तरुनी केटी छन् भन्ने सुइँको पाइयो भने अनेक तरहले त्यस्ता केटीहरु दरबारमा भिÏयाइन्थे । उनी धेरै तरुनीको ब्यसनमा चुर्लुम्म डुबेका थिए । (नेपाल, ज्ञानमणि । ‘नेपालको महाभारत’–२०५२, पृ. ३३)
पल्लो किरातबाट ८० हजार ब्यवस्था गर्ने प्रस्ताव
आफू स्वामी निर्वाणानन्द भई राजपाठ त्यागेको भए तापनि रानी कान्तवतिको मृत्यू भएपछि केही समय मानसिक रुपमा विछिप्त हुन पुगेका उनी विस्तारै सम्हालिएर आए । त्यसपछि उनले राजकाजको काममा हस्तक्षेप सुरु गरे । उनी स्वामी महाराज थिए, तर सम्पूर्ण राज्याधिकार भने गीर्वाणयुद्ध विक्रमको हातमा थियो । जेठी महारानी राजराजेश्वरी नावालक राजाका नायव थिइन् ।
राजदरबारभित्र शक्ति सङ्घर्ष चल्दा उनी वि.सं. १८५७ जेठ ८ गते बिहानै पाटनबाट सिमित सहयोगीका साथ काशीतिर पलायन भए । उनी काशी पलायन हुँदा सिमित स्रोत र साधन लिएर गएका थिए । उनी त्यसतर्फ पलायन भएपछि उनको परिवारमा स्वभाविक चिन्ता पर्ने नै भयो । उनका छोरा राजा गीर्वाणयुद्धविक्रम शाहले आफ्ना बुबाको काशी बसाईलाई सहज बनाइदिन कलकत्ताका अँग्रेज गभर्नर जनरललाई वि.सं. १८५७ पुस सुदी रोज १ मा लेखेका थिए ।
उनले लेखेको पत्रमा ‘आफू पूजाको लागि नुवाकोटमा हुँदा आफ्ना बुवा स्वामीज्यू बेखुस भई बनारस गएका र त्यसमा पनि गर्मी याममा केही सामान नलिई गएकोले त्यहाँ राज हुन्जेल खुसीसाथ राखिदिन र आफूले पनि बुवाको सक्दो चाकरी गर्नेछु ’ भन्ने परेको छ । (पन्त, दिनेशराज पन्त । ‘पूर्णिमा’ पूर्णाङ्क ८७–२०५१ मंसिर, पृ.४४ )
काशीवासमा उनले इस्ट इण्डिया कम्पनीका अधिकारीहरुसँग छलफल गरी आफ्नो खर्चको जाँजोपाँजो तथा सुरक्षा प्रवन्धका लागि केही सन्धि सम्झौता गर्नुपर्ने आवश्यकता ठाने । यति मात्र होइन, अँग्रेजसँग सम्बन्ध बढाइए आफूलाई नेपालको सिंहासनमा पुनस्थापित हुनका लागि आवश्यक सहयोग प्राप्त हुने आशा पनि थियो । यसका लागि उनले आफ्ना मुख्य सल्लाहकार भीमसेन थापा र रङ्गनाथ पण्डितलाई अगाडी सारे । अँग्रेज पदाधिकारीहरु पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी राजनीतिक तथा ब्यापारिक लाभ उठाउन चाहन्थे ।
यसअघि अब्दुल कादिर नामका एक ब्यक्तिले अँग्रेजहरुको नीतिअनुसार केही सरसामानका साथ काठमाडौं आवत जावत गर्न र त्यहाँ आफ्नो ब्यापारिक कोठी स्थापना गर्ने प्रयास गर्दा उनी असफल भई फर्केका थिए । त्यसैले भीमसेन थापा र रङ्गनाथ पण्डितमार्फत रणबहादुर शाहले गरेको नयाँ प्रस्तावउपर इस्ट इण्डिया कम्पनीले खासै ध्यान दिइरहेको थिएन । (आचार्य, बाबुराम । ‘नेपालको संक्षिप्त वृत्तान्त’–२०६३, पृ. २७०)
यसबारे छलफल भइरहदा नेपाल सरकारको तर्फबाट गजराज मिश्र र कम्पनी सरकारका एक जना अँग्रेज प्रतिनिधिबीच छलफल भइरहेको थियो । त्यतिबेला रणबहादुरकी जेठी महारानी उनीसँगै रहन काशी आइपुगेकी थिइन् । राजदरबारभित्र शासनको बागडोर सुवर्णप्रभाले नायवी लिएर सम्हालेकी थिइन् । सुवर्णप्रभाले पहिले कीर्तिमानसिंह बस्न्यातलाई मूलकाजी बनाएकी थिइन्, उनको हत्या भएपछि उनकै भाई बख्तावरसिंह बस्न्यात मूलकाजी बनाइएका थिए । सल्लाहकारका रुपमा सुबुद्धि खड्का सक्रिय थिए ।
वि.सं. १८५८ मा पटनामा नेपाल र अँग्रेजबीच सन्धिको प्रारुप तयार भयो । सन्धिअनुसार स्वामीज्यूको जीवनवृत्तिका लागि पल्लो किरात र मोरङको तराई क्षेत्रबाट उठ्ने राजश्व रकममध्येबाट ८० हजार नगद र जिन्सि दिने प्रस्ताव गरिएको थियो । यिनले काठमाडौंको कुनै राजकाजमा हस्तक्षेप गर्न नपाउने, बनारसमा बस्दा शान्तिपूर्वक रहनुपर्ने, नेपालभित्र रहेमा नेपाल सरकारको र भारतमा रहदा कम्पनी सरकारको नियन्त्रणमा रहनुपर्ने तथा यिनले एक सय जना अङ्गरक्षक पाउने प्रस्ताव पनि गरिएको थियो । साथै हरेक वर्ष नेपालले इस्ट इन्डिया कम्पनीलाई बुझाउँदै आएको दुई वटा हात्ती अब उप्रान्त बुझाउनु नपर्ने प्रस्ताव पनि यो सन्धिको मस्यौदामा गरिएको थियो । (आचार्य, उही, पृ. २७१)
तर यो सन्धिमा नेपालका भारदारहरुको सुरक्षाको जिम्मेवारी कम्पनी सरकारले लिने भन्ने अप्रिय प्रस्ताव पनि थियो । यो प्रस्तावित सन्धिको प्रारुपलाई लिएर कम्पनी सरकारका तर्फबाट वि.सं. १८५९ को मंसिरमा कप्तान नाक्स काठमाडौं आइपुगे । कप्तान नाक्स काठमाडौंमा बसिरहेको बेला पाँडे र बस्न्यात् भारदार खलकबीच ठूलो मनमुटाव मच्चिइरहेको थियो । त्यतिबेलै राजा गीर्वाणयुद्ध विक्रमका तर्फबाट रणबहादुर शाहको नाममा पल्लो किरात र मोरङ क्षेत्रबाट आउने बार्षिक आम्दानीमध्ये जीवनवृत्तिका लागि ८० हजार रुपैयाँ चुपचाप रहन ताम्रपत्र जारी गरियो । (आचार्य, उही, पृ. २७२–२७३)
कप्तान नाक्स एक वर्ष काठमाडौंमा बसे । त्यतिखेरसम्म महारानी राजराजेश्वरी विभिन्न अवरोधहरु छल्दै काठमाडौं आएर शासनको बागडोर सम्हाल्न सुरु गरिसकेकी थिइन् । स्वामी महाराजले उनको गरगहना पनि जबरजस्ती खोसेर मोजमा उडाइसकेका थिए । स्वामी महाराजको बानी ब्यवहारदेखि वाक्क भएर फर्केकी थिइन् । उनी फर्केपछि सुवर्णप्रभालाई बन्दी बनाइयो । त्यतिखेरै सुवर्णप्रभाबाट नियुक्त हजुरिया सरदार सुवुद्धि खड्का चाहिँ दरबारको ढुकुटीबाट सक्दो धन जवाहरत लिएर भोटतिर भाग्न सफल भएका थिए । (नेपाल, उही, पृ. ५३)
वि.सं. १८६० को वर्षायाममा काठमाडौंमा हैजा फैलिएर धेरै मानिस मर्न थालेपछि राजराजेश्वरीको अनुमतिबाट सुरक्षित ठाउँ खोज्दै ब्रिटिश प्रतिनिधि कप्तान नाक्स मकवानपुर गढीमा बस्न गए । त्यताबाट उनी फेरि सकाठमाडौं फर्किएनन् । (नेपाल, उही, पृ.५४)
यसबाट पटनामा तयार पारिएको मस्यौदा सन्धि कार्यान्वयन हुन सकेन ।
स्वामी महाराज ऋणमा चुर्लुम्म
रणबहादुर शाहले देख्नमा जोगीको भेष धारण गरे पनि उनी उत्पात्तैका भोगी थिए । उनको केही ब्यसनी चरित्रबारे माथि पनि उल्लेख भइसकेको छ । उनको यही चरित्रका कारण काशीबासमा उनले खर्चको अभाव ब्यहोरे । उनी काशी हिडेको केही समयपछि रानी राजराजेश्वरी पनि त्यहाँ पुगेकी थिइन् । उनले लगेको खर्च मात्रै होइन, उनका गरगहनासमेत सबै बेचिदिएकाले स्वामी महाराज र महारानीबीच मनमुटाव भई राजराजेश्वरी बेतियाको रामनगर आएकर बसेकी थिइन् ।
महारानी राजराजेश्वरी काठमाडौं आइसकेकी थिइन्, रणबहादुर शाह भने कम्पनी सरकारबाट नजरबन्दीमा परेका थिए । राजराजेश्वरीले नजरबन्दीबाट उनलाई मुक्त गर्न कम्पनी सरकारसँग आग्रह गरिन् । तर कम्पनी सरकारले उनले काशीबासका बेला त्यहाँका साहुमहाजनसँग लिएको ऋण यथासक्य चाडो चुक्ता नगरेसम्म नजरबन्दीबाट मुक्त नगर्ने अडान लिइदियो । (आचार्य, उही, पृ. २७६)
काशीमा रहदा पनि स्वामी महाराज भोगविलासमा चुर्लुम्मै डुबेका थिए । पुरानो बानीअनुसार अनेकौ रखौटी राखे । एक मुसलमानकी पुत्री महतावलाई धेरै प्रयत्नले पत्नीका रुपमा बस्ने स्वीकार गराए । रसरङ र आफ्नो दलका सदस्यहरुको भरणपोषणमा उनको खर्च ठूलो थियो । (नेपाल, उही, पृ. ५३)
उनले काशीमा रहँदा एकै जना सेठ द्वारिकादासबाट मासिक सयकडा १० ब्याजमा एक वर्षभित्र तिर्ने गरी ६० हजार रुपैयाँ ऋण लिएका थिए । अर्का साहु शिवलाल दुवेबाट महिनाको एक मोहर ब्याजमा एक लाख बनारसी सिक्का (मो.रु. ५० हजार) ऋण लिएका थिए । यसभन्दाअघि ब्राहृमणलाई दक्षिणा दिन भनी गंगाराम शास्त्रीबाट मासिक सयकडा २ रुपैयाँ ब्याजमा १४ सय रुपैयाँ ऋण काढेका थिए । यी रुपैयाँमध्ये ब्राहृमणको दक्षिणास्वरुप ५ सय रुपैयाँ पनि यिनकैका खर्च थियो । (नेपाल, उही, पृ. ५४–५५)
रणबहादुर शाहले काशीबासको समय लिएको यो ऋणको रकम ठूलो थियो । यो रकम तिर्न बाँकी हुँदा उनी कम्पनी सरकारको नजरबन्दमा परेका थिए ।
ऋण तिर्न हारगुहार
एउटा राजाले यसरी मोजमस्तीका लागि निर्वासनको समय विदेशी ब्यापारीसँग ऋण लिनु र त्यो तिर्न नसक्नु राष्ट्रकै लागि एउटा बेइज्जतिको विषय थियो । तर उनी भने उक्त ऋण तिर्न राजदरबारमा रानीहरुलाई पत्राचार गरिरहेका थिए । महारानी राजराजेश्वरी पनि स्वामी महाराजलाई ऋणमुक्त गराउन हरतरहले प्रयत्न गरिरहेकी थिइन् ।
उनले स्वामी महाराजलाई पठाएको मिति नखुलेको एक पत्रअनुसार ऋणबाट आफूलाई मुक्त गर्न स्वामी महाराजले ३ वटा पत्र पठाएको देखिन्छ । पत्रको भावअनुसार उनले ‘जिउ मारी फिरंगी (अँग्रेज) को पैसा खान्न’ भनेका थिए । पछि उनले बेखर्ची हुँदा ब्यापारी द्वारकादासबाट ऋण लिए ।
अँग्रेजबाट पनि केही ऋण लिएका थिए, तर त्यो रकम तिरियो । त्यहाँ खर्चले नपुग्ने भएकाले स्वामी महाराजका लागि महोत्तरी, सप्तरी र विजयपुरको आम्दानी बनारस पु¥याउन हस्तदल (शाही)लाई खटाइएको थियो । अँग्रेजकै ऋण तिर्नका लागि वि.सं. १८५९ मै अग्रिम रुपमा ६० सालको पनि मालपोत उठाइएको थियो । द्वारकादासको ऋण उठाउन आएका पत्रवाललाई थामिराखिएको थियो, तर त्यसबीचमा द्वारकादासको देहान्त हुन पुग्यो ।सुरक्षाकर्मीहरु लगाएर भए पनि ६० सालको खर्च पनि बनारस पठाउने तयारी थियो । (नेपाली, चित्तरञ्जन नेपाली । ‘श्री ५ रणबहादुर शाह’–२०७५, पृ. १२६–१२७)
यसरी सर्वसाधारणबाट अग्रीम मालपोत उठाएर राजदरबारले निर्वासित स्वामी महाराजलाई ऋणमुक्त गर्ने प्रयास ग¥यो । अर्कोतिर राजदरबारकै चौतारिया, भारदार तथा साना कर्मचारीहरुबाट समेत स्वामी महाराजको ऋणमुक्तीका लागि तत्कालिन राजा गीर्वाणयुद्ध विक्रमको भाकाबाट आदेश जारी गरियो । राजाले जारी गरेको आदेशमा ‘…चौतारिया काजि सर्दार षजान्चि षर्दार जेठा बुढा गैरह भारदार प्रति सम्वत १८६१ मा (श्री दीदीज्यू)का विवाहमा लाग्याको गोडधुवाई माफ गरिवक्स्यौ (श्री वुवाज्यूले) चार वर्ष बनारस रहनुपर्दा लाग्याको कर्जा तिर्नाकन तपसिल दरकार सलामी रुपैया हाम्रा हजुरमा चह्राउन ल्याऊ…’ भन्ने भाका परेको छ । (नेपाली, उही, पृ. १२८–१२९)
यो पत्र वि.सं. १८६१ जेठ वदी १३ मा लेखिएको हो ।
रणबहादुर शाहलाई ऋणबाट मुक्त गराउनका लागि कसबाट कति रकम सलामीवापत उठाउन आदेश दिइएको थियो भन्ने तथ्य उदाहरणका लागि यसप्रकार छः
चौतारिया प्राण शाह ५५१/–
चौतारिया शेरबहादुर शाह ५५१/–
काजि दलभंजन पाँडे ५००/५०
काजि भीमसेन थापा ५००/५०
काजि त्रिभुवन ५००/५०
काजि जहरसिंह ५००/५०
काजि नरसिंह ५००/५०
वाक्सी नाहरसिं ४००/–
काजि अमरसिंह थापा ५००/५०
पुतवार नाइक्या वस्ति २/५०
पुतवार नाइक्या महेश्वर २/५०
यसरी तत्कालिन चौतारिया, भारदार तथा कर्मचारीहरुमध्ये ८२ जनालाई राजाको आदेशअनुसार सलामी तिराएर रणबहादुर शाहलाई ऋणमुक्त गराइयो । त्यसपछि उनी काशीबासबाट मुक्त भएर उनी वि.सं. १८६० फागुन २० गते स्वदेश फर्के । वि.सं. १८६३ वैशाख २६ गते राती १० वजे एक कचहरीमा भनाभन हुँदा आफ्नै सौतेला भाई शेरबहादुर शाहीको हातबाट उनी काटिए । ३२ वर्षकै उमेरमा अकालगतिबाट यी मोजमस्त राजाको इहलिला समाप्त भयो ।