काठमाडाैं, २७ फागुन । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समिकरणबारे छलफल गर्ने बताउनुभएको छ ।
बिहीबार जसपा नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरुका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पुरा भएमात्रै सत्ता समिकरणको विषयमा छलफल गर्ने बताउनुभएको हो ।
अध्यक्ष ठाकुरले बिहीबार नै आफू लगायत डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईले यस विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तयारी गरेको बताउनुभयो ।
अध्यक्ष ठाकुरले यस विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिनुभयो । उहाँले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा समेत छलफल हुने जानकारी दिनुभयो ।