काठमाडौं, २७ फागुन । एमाले र माओवादी केन्द्रलाई अदालतले ‘अंशबण्डा’ गरिदिएपछि दुबै पार्टीका नेताहरु नयाँ ‘पाटर्नर’ को खोजीमा लागेका छन् । यसमा सबैभन्दा हाईसन्चोले बसेका छन् प्रधानमन्त्री केपी शर्मा ओली । उनलाई अविश्वासको प्रस्ताव नआएसम्म कुनै कष्ट गर्नुपर्ने अवस्था छैन ।
ओलीलाई अप्ठ्यारो त्यसबेला पर्छ, जुन बेला माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ । तर सरकारलाई दिएको समर्थन फिर्ता लिन उसले धेरै कुरा सोच्नुपर्ने हुन्छ ।
वर्तमान सरकार माओवादीको समर्थनमा ठूलो दलको हैसियतले बनेको हो, दुई दल एकीकरण भएपछि मात्रै एउटै दलको सरकार बनेको हो । त्यसकारण माओवादीले सरकारलाई दिएको समर्थन त्यति सजिलै लिने बाटो छैन ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ओलीका लागि दुईवटा विकल्प रहन्छन् । पहिलो विश्वासको मत लिने र दोस्रो प्रतिनिधिसभा विघटन गरेर नयाँं निर्वाचन गर्ने । प्रधानमन्त्री ओलीलाई पुस ५ मा जसरी अब संवैधानिक अड्चन आउने छैन । पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा एउटै पार्टीको सरकार थियो । अहिले दुईवटा पार्टीको सरकार छ । नेपालको संविधानको धारा ७६(२) को सरकारले विश्वासको मत लिनुपर्छ । अर्थात प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिनका लागि संविधानमा केही सर्तहरु छन् । नत्र संविधानले प्रधानमन्त्रीको स्वविवेकीय अधिकारका रुपमा यसलाई छोडिदिएको छ । सरकारको नेतृत्व गरिरहेको दल विभाजन भएमा वा सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा मात्र प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्यकारी अवस्था सिर्जना गरेको छ ।
प्रधानमन्त्री ओलीका लागि यी दुबै अवस्था अहिले सृजना भएको छ । दल विभाजन भएको छैन, तर सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त गरेमा ओलीको सत्ता यात्रा टुंगिने छैन । विश्वासको मत प्राप्त नगरेमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको तिथि तोक्न सक्नेछन् ।
अहिले ओलीका लागि थपिएको सहजता के हो भने, संसदले उनलाई काम गर्न नदिएको उदाहरण । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि फागुन २३ गते डाकिएको प्रतिनिधिसभाको पहिलो बैठकमा अप्रिय दृष्यहरु देखिए । त्यो दिनको दृष्यले बताउँछ कि यो प्रतिनिधिसभाले प्रधामनन्त्री केपी शर्मा ओलीलाई त्यति सजिलै काम गर्न दिने छैन । त्यसकारण विश्वासको मत प्राप्त नगरेको खण्डमा फेरि प्रतिनिधिसभा विघटन हुने छ ।
प्रतिनिधिसभा विघटन अघि र एमाले माओवादी न ब्यँुतिएसम्म तत्कालीन नेकपाका शीर्ष नेताहरु शक्तिशाली देखिन्थे । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डहरु देशै हल्लाउने शक्तिमा देखिन्थे । तर एमालेसँग छुट्टिएपछि माओवादी केन्द्रका अध्यक्ष केवल पेरिसडाँडाका प्रचण्डमा सिमित भएका छन् । नेपाल, खनाल लगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले कतिखेर धुम्बाराहीमा एमालेको ढोका खोली देलान भनेर पुर्पुरोमा हात लगाएर बसेका छन् । शक्तिमा भएका नेताहरु अहिले आफ्नै घरको ढोका अगाडि कतिखेर खुल्छ भनेर पर्खे र बसेका छन् ।
शक्तिशाली देखिएका नेताहरु किन यसरी दाँत फुकालेको सिंह जस्ता भए ? किन बिष निकालेको सर्प जस्ता भए ? यसमा उनीहरु आफैं जिम्मेवार छन् । समयमा बुद्धि नपु¥याउँदा आफूलाई मात्र होइन, देशलाई कति घाटा लाग्दो रहेछ भन्ने कुरामा अब पनि चेत नपलाउने हो भने यस्ता दुख फेरि फेरि आईरहन सक्छन् ।