प्रधानमन्त्री ओलीले राजीनामा दिनुको विकल्प छैन : नेता गौतम | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले राजीनामा दिनुको विकल्प छैन : नेता गौतम

काठमाडौं, फागुन १२ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनको निर्णयलाई वदर गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार उपाध्यक्ष गौतमले प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्चको फैसलालाई स्वागत गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गर्ने निर्णय पछि तटस्थ रहँदै आएका गौतमले आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै आएका छन् ।

उनले एकताका लागि दुवै पक्षका नेता तथा कार्यकर्तालाई आह्वान पनि गर्दै आएका थिए । उनले विज्ञप्तीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने र दुवै अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउन पनि माग गरेका छन् ।

साथै गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने समेत माग गरेका छन् ।

प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछुः–
१) सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनु पर्छ।
३) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।
वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);