काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गर्नुभएको छ । शनिबार प्रधानमन्त्रीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको बुटवलको बम्घाटमा शिलान्यास गर्नुभएको हो ।
लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो । नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । केबलकार निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ छ ।बुटवल केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ ।