स्पष्ट दुई कित्तामा छुट्टिएको नेकपा अहिले सडक प्रदर्शनमा व्यस्त छ । दुबै पक्ष अहिले शक्ति प्रदर्शनको होडबाजीमा समेत लागेको छ । तर शुक्रबार प्रधानमन्त्री ओली पक्षीय नेकपा गर्न लागेको प्रदर्शनमाथि भने अर्को पक्षले अहिले आशंका व्यक्त गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गर्न लागेको राजनैतिक भेलाको सन्दर्भमा जनताले चाहेका केही नीतिगत निर्णयहरु भैहाल्ने हो कि भन्ने आशंकाले एउटा ठूलै समूह त्रसित छ । सानासाना घटनाक्रमहरुलाई पनि व्यापक अतिरञ्जित बनाउँदै गरिने व्याख्याले राजनीतिलाई थप अतिरञ्जित बनाएको छ । ओलीपक्षीय नेकपाको शक्ति प्रदर्शनलाई लक्षित गर्दै त्यसको पूर्वसन्ध्यामा आयोजना भएको आम हड्ताल यही त्रसित मानसिकताको उपजको रुपमा हेर्न सकिन्छ ।
नारायणहिटी दरबारको अघिल्तिर आयोजना हुन लाग्दैमा राजावादी, पशुपतिनाथमा पूजा गर्दैमा धार्मिक अड्कलबाजी र आफ्नो नियमित अभ्यासको क्रममा सेनाले गरेको नियमित प्रदर्शनमा समेत सशंकित हुनुपर्ने त्रासदीपूर्ण वातावरणमा उकुसमुकुस बन्दै गएको राजनीति कर्मीहरुको ठूलै झुण्डले राजनीतिलाई थप अस्थिर र उत्तेजनापूर्ण बनाउनमा मलजल गरिरहेको देखिन्छ । प्रतिगमनको झगडाको न्यायीक निरुपण अदालतले गर्ने हो । अदालत आफ्नो काममा क्रियाशील छँदै नै छ ।
अतिरञ्जित झगडाको सडकबाटै निरुपण खोज्ने हो भने नेपाली जनताले महँगोमा बनाएको संविधानको अर्थ र औचित्य खोज्न कहाँ जानुपर्ने हो ? देशलाई सधैंभरी संक्रमणमा राखेर अस्थिर राजनैतिक चलखेलमै सम्पूर्ण राज्य संयन्त्रको ध्यान केन्द्रित गर्ने हो भने देशले विकास र समृद्धिको एजेण्डामा कहिले प्रवेश गर्ने ? देश महामारीबाट ग्रस्त छ, महिनौंसम्म भएको लकडाउनले सम्पूर्ण अर्थतन्त्र थला परेको छ, व्यवसायले आफ्नो लय समात्न सकेको छैन, अग्रपंक्तिमा खटिएका सिमित जनताहरुको लागि समेत खोप दिनको निमित्त अरुसँग भिख माग्नुपर्ने अवस्था छ । तर लडाईंको केन्द्रबिन्दुमा यी कुनै पनि विषयहरु कहिल्यै छैनन् ।
आफू सत्तामा नहुँदा प्रतिगमन देख्ने, अनि सत्तारुढ भएपछि सम्पूर्ण रुपमा अग्रगमन देख्ने अतिरञ्जित व्याख्याले देशलाई नराम्रो संकटको भूमरीमा फसाइरहेको छ । जनताका लागि जीवनमरण बनेको जनजीविकाको सवालतर्फ राजनीति गर्नेहरुको ध्यान केन्द्रित नभएसम्म कुनै पनि व्यवस्थाको परिवर्तनको निमित्त नारा लगाउनुको कुनै अर्थ छैन । शक्ति प्रदर्शनको घेरामा निरन्तर उल्झिँदै गएको सत्तारुढ दलका नेता केन्द्रित राजनीतिले कसले कसलाई भित्ता पु¥याउने हो ? त्यो त समयले बताउला, तर विकास र समृद्धिको नारा भने सधैंको लागि भित्तातर्फ धकेलिएको यर्थार्थ बोध गर्न ढिलो भैसकेको छ ।
राजनीति गरिखानेको निमित्त हुनुप¥यो, आम नागरिकको निमित्त हुनुप¥यो, मनगढन्ते आफ्नो अभिष्ट पूरा गर्न बनाइएका कपोकल्पित नारा र त्यसका अवयवहरुले राजनीतिलाई शुद्धीकरण गर्न सक्दैन । प्रधानमन्त्रीद्वारा गर्न लागिएको शक्ति प्रदर्शन सामान्य चुनावी भेला जस्तो मात्र हुन सक्नुपर्छ, बारम्बार शक्ति प्रदर्शनको नाममा जनताले सडक तताउनुपर्ने दैनिकी सधैंको लागि बिदा गर्न सक्नुपर्छ, अदालतको निर्णय सर्वमान्य बन्न सक्नुपर्छ । आजको पद हाइन आआफ्नो प्रवृत्ति सुधार गर्दै भोलिको निमित्त आशावादी राजनीतिको सुरुआत गर्न सक्नुपर्छ ।