सर्लाही, १३ माघ । सर्लाहीको सिमराबाट सशस्त्र प्रहरीले एक नेपालीलाई मोटरसाईकलमा राखेर अपहरण शैलीमा भारततर्फ लाँदै गरेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला रामपथ पकरी कुवारी मदन ९ बस्ने अन्दाजी बर्ष १९ का अरबिन्द कुमार सहनी र सोही ठाउँका १८ बर्षिय राहुल कुमार यादव रहेको बिओपी सिमराले जनाएको छ ।
सर्लाहीको बिष्णु गाउँपालिका–२ पकडीगोठ बस्ने स्थानीय २८ बर्षिय धर्मेन्द्र रामलाई सोमबार अपराह्न जबर्जस्ती बिहार ३० एस ७५२५ नम्बरको मोटरसाईकलमा राखेर अपहरण शैलीमा भारत तर्फ लैजान लागिएको थियो । उनलाई भारततर्फ लैजादैँ गरेको अवस्थामा नदिया पकडी स्थित सिमरा बिओपीबाट खटिएको टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल सहित नियन्त्रणमा लिइएका दुबै अपहरणकारी र पीडितलाई नेपाल प्रहरीको जिम्मा लगाइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।




