काठमाडौं, २८ मंसिर । सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले सरकारको सो तयारी बारे जानकारी दिनुभएको हो ।
१४ वर्ष भन्दा मुनिका बालबालिकाका लागि अहिलेसम्म कोरोना विरुद्धको खोप नबनेको उहाँले बताउनुभयो । नेपालमा १४ वर्षभन्दा कम उमेर रहेको जनसंख्या २८ प्रतिशत रहेको छ । त्यसैले बाँकी ७२ प्रतिशत जनसंख्यालाई लक्षित गरी सरकारले खोपको तयारी गरेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउनको लागि पहल सुरु गरिसकेको छ । यसका लागि मन्त्रालयगत तयारी समेत भएको बताइन्छ ।




