कोरोना बीमा भुक्तानीमा कम्पनीहरुको अझै आलटाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना बीमा भुक्तानीमा कम्पनीहरुको अझै आलटाल

काठमाडौं, २३ मंसिर । कोरोना बीमा भुक्तानीका लागि अर्थ मन्त्रालयले बीमा कम्पनीलाई दुई पटक निर्देशन दिइसकेको छ । तर बीमा कम्पनीले निर्देशनको पालना गर्न आलटाल गरिरहेका छन् । बीमा कम्पनीले बेवास्ता गरेपछि अर्थ मन्त्रालयले बिहीबार तीन दिनभित्र बीमितलाई भुक्तानी दिन निर्देशन दिएको थियो । यस्तै प्रमाणीकरण समेत सक्दो चाँडो सक्न निर्देशन दिइएको थियो । तर मन्त्रालयको निर्देशन अनुसार काम भने अहिलेसम्म हुन सकेको छैन ।

अर्थ मन्त्रालयले यसअघि गत कात्तिक १८ मा पनि बीमा कम्पनीहरुलाई सात दिनभित्र भुक्तानी दिन निर्देशन दिएको थियो । पहिलो पटक निर्देशन दिएपछि एक महिनाको अवधिमा १६ सय ३४ जनाले मात्र भुक्तानी पाएका थिए । कोरोना बीमा मापदण्डमा आवश्यक कागजात पेश गरेको सात दिनमै भुक्तानी दिनुपर्ने व्यवस्था छ । बीमा कम्पनीले त्यो मापदण्डको सुरु देखि नै पालना नगरेको पाईएको छ ।

सुरुमा बीमालेख बिक्री गर्न हौसिएका कम्पनीले अहिले दावी भुक्तानीमा विभिन्न बहाना गरिरहेको बीमितहरुको आरोप छ । बारम्बार कम्पनीमा धाउँदा समेत कम्पनीले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ । बीमा रकम दावी गरेको लामो समयसम्म पनि भुक्तानी पाउन नसकेको बीमित टेकप्रसाद चौलागाईं बताउनुहुन्छ ।

चौलागाईंले ईमाउन्टेनसँग भन्नुभयो–‘मैले कम्पनीको तर्फबाट भदौ २३ गते सबैको कोरोना बीमा गरेको थिए । असोजमा मलाई कोरोना संक्रमण पुष्टि भयो र कात्तिक २० मा कोरोना बीमा दाबी गरे । तर अहिलेसम्म पनि पाउन सकेको छैन । खाली झुलाउने काम मात्र भएको छ ।’

अहिलेसम्म ३३ हजार बीमितले भुक्तानी दावी गरेपनि ६ हजार ९ सय ५३ जनाले भुक्तानी पाएका छन् । यस्तै ८ हजार दावी प्रमाणीकरणको चरणमा छ । हाल दैनिक २ देखि ३ सय निवेदन मात्र प्रमाणीकरण भइरहेको छ । यही गतिमा प्रमाणीकरण भए यसका लागि मात्र कम्तिमा दुई महिना लाग्ने देखिन्छ । तर बीमा कम्पनीहरुले भने प्रकृया पूरा गरेर आएका बीमितलाई समयमै भुक्तानी दिईरहेको बताउदै आएका छन् । प्रक्रिया पूरा भएर आएका दावी भएको अजोड इन्स्योरेन्स कम्पनीका कार्यकारी निर्देशक कुमारबहादुर खत्री बताउनुहुन्छ । कागजी प्रक्रिया पूरा नभएका माग दावी भुक्तान नहुनु सामान्य कुरा भएको उहाँको भनाई छ ।

अजोड इन्स्योरेन्स कम्पनीका कार्यकारी निर्देशक कुमारबहादुर खत्रीले भन्नुभयो–‘ हामीसँग दाबी गरिएका बीमाको रकम पाइनै रहनु भएको छ । कति पाउने प्रक्रियामा हुनुहुन्छ । केही कागजी प्रक्रिया पूरा नभएका कारण रोकिएका छन् । जुन सामान्य प्रक्रिया हो ।’

बीमा कम्पनीले कोरोना बीमालेख बिक्री वापत ९८ करोड ६० लाख प्रिमियम संकलन गरेका थिए । तर ३ अर्ब १८ करोड भुक्तानीका लागि दावी परिसकेको छ । त्यहि कारण कम्पनीले भुक्तानीमा आलटाल गरिरहेको बताइएको छ । तर उनीहरुको आलटालमा मन्त्रालयको निर्देशनका बाबजुद नियामक बीमा समिति भने रमिते बनिरहेको देखिन्छ । यो विषयमा मन्त्रालयले विशेष ध्यान पुर्याउन आवश्यक देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);