काठमाडाैं,९ मंसिर। सरकारले कोरोनाविरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकलाई वितरण गर्नेगरी तयारी भएको बताएको छ ।
विश्व प्रति–जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडि बढेको बताउनुभयो । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको उहाँले बताउनुभयो ।
मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताउनुभयो । उहाँले तरकारी, फलफूल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताउनुभयो ।