काठमाडाैं,२ मंसिर । नेवार समुदायका केही समूहले मंगलबार पनि भाइटीका लगाउँदैछन् । आज बिहान केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायले भाइटीका लगाउन लागेका हुन् । तर, धेरैजसोले भने सोमबार नै भाइटीका लगाइसकेका छन् ।
सरकारले नेवार समुदायको भाइटीका किजापूजाका लागि मंगलबार पनि देशभर सार्वजनिक बिदा दिएको छ । यसैबीच, भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ।
मन्दिर बिहान ५ बजेदेखि नै खुला गरिएको हो । बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । पुनर्निर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर पाँच वर्षपछि खुलेको हो ।