पोखरा, २५ असोज । किसानले उत्पादन गरेका वस्तु सोझै उपभोक्ता माझ पुग्ने गरि पोखरा महानगरपालिकाले किसान बजार संचालनमा ल्याएको छ ।
महानगरपालिकाले उपभोत्तालाई कम मूल्य पर्ने गरि पोखरामा किसान बजार सुरु गरेको हो । किसानको उत्पादनमा विचौलिया हाबी हुँदा उपभोक्ताकोमा पुग्दा किसानले उचित मूल्य नपाउने रहेको थियो । पोखरा महानगरपालिकाले बजारबाट पोखराका किसान लाभान्वित हुने अपेक्षा लिएको छ ।
कृषि बजारमा तरकारी, खाद्यान्न, दुग्धजन्य वस्तु, फलफुल, माछा, मासु हस्तकलाका सामग्री लगायत किसानका उत्पादन हेरेर बिक्री गर्ने गरि स्टल बनाइएको छ । किसानले उत्पादन गरेका वस्तु एक दुई दिन राख्नु परे पनि उचित व्यवस्थापनका लागि कोल्डस्टोरको व्यवस्था गरिएको छ ।
किसानले थोक बिक्रेतालाई बिक्री गर्दा भन्दा कृषि बजारमा २० देखि ३० प्रतिशत बढी मूल्य पाउने र उपभोक्ताकालागि पनि थोक विक्रेताबाट किन्ने मूल्यभन्दा सस्तो मूल्य निर्धारण गरिएको छ ।
महानगरपालिकाले ठूलीपोखरी, गैहबारी, बिरौटा, तालचोक, अम्मरसिंह चोक लगायतका क्षेत्रमा किसान बजार संचालनमा ल्याएको हो । अहिले सम्म ६ वटा किसान बजार स्थापना गर्न एक करोड खर्च गरिएको छ ।