काठमाडौं, २२ असोज । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर, सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ गरेका छैनन् ।
नेपालमा कुनैपनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैलेपनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै नबनेको हो । संसार भर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरु छन् ।
नेपालको विषयमा पर्यटकले जानकारी लिएपनि कुनैपनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको व्यवसायीको भनाई छ । खासगरी पदयात्रा, पर्वतारोहण र ¥याफ्टीङमा जाँदा कोभिड संक्रमणको जोखिम नहुने गरी पर्यटकलाई सेवा दिन सकिने पनि व्यवसायीको भनाइ छ। कोभिडले थला परेको पर्यटन क्षेत्रमा लकडाउन खुलेसँगै नयाँ उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरेपनि सरकारी मापदण्डका कारण पर्यटक नआउँदा व्यवसायीहरु निराश देखिन्छन् ।




