बुटवल, १९ असोज । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल सुरु भएको छ ।प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न दिएसँगै सांसदहरुले आ–आफ्ना धारणा राख्नेछन् ।
सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यतालिका रहेको छ । यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ ।
सोमबार र मंगलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी सदनको छ । प्रदेशसभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ ।
कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुने छ । राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामकरण टुङ्ग्याउने छ ।
प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ । यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।
प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ ।