एजेन्सी, ७ भदौ । यो सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधिको लागि आज राति जर्मन च्याम्पियन बार्यन म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीबीच प्रतिस्पर्धा हुँदैछ ।
पोर्चुगलको लिस्बोनमा हुने फाइनल खेलमा दुबै टीम एक अर्कालाई हराएर उपाधि हात पार्ने दाउमा रहेका छन । खेल नेपाली समय अनुसार आज राती पौने १ बजेबाट शुरु हुनेछ । फ्रान्सेली क्लब पीएसजी पहिलो पटक र जर्मन क्लब बायर्न छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने योजनामा रहेका छन ।
बायर्नले च्याम्पियन्स लिगको उपाधि जितेमा उसको यो सिजनको तेस्रो उपाधि हुनेछ । बार्यनले बुन्डेसलिगाका साथै जर्मन कपको पनि उपाधि जितेको थियो । यसअघि बायर्नले सन २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । पीएसजी भने पहिलो पटक च्याम्पियन्स लिगको उपाधि होडमा पुगेको हो । पीएसजी युरोपियन प्रतियोगिताको फाइनलमा पुग्ने ४१ औं युरोपियन टिम बनेको छ ।
च्याम्पियन्स लिगमा बार्यन धेरै पटक फाइनलमा पुग्ने दोस्रो टिम हो । पीएसजी र बायर्न अहिलेसम्म एक आपसमा च्याम्पियन्स लिगको लिग चरणका खेलमा आठ पल्ट भिडेका छन् ।