काठमाडौं, ३० साउन । नेकपामा पार्टीभित्रको जारी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि दुबै अध्यक्षको सहमतिमा कार्यदल बनाइएको हो ।
कार्यदलमा महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहनुभएको छ । उक्त कार्यदल पार्टीभित्रको विवाद हल गर्ने गरी बनाइएको जनाइएको छ ।
बिहीबार ओली र दाहालबीच भएको छलफलमा कार्यदल बनाउन सहमती भएकोमा शुक्रबारको छलफलमा कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति जुटेको हो । कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ ।
यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलले सहमतिको मस्यौदा बनाउने छ ।
त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलले काम गर्ने जनाइएको छ । कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बस्ने जनाइएको छ ।