काठमाडौं, २८ साउन । समय फेरियो, व्यवस्था फेरियो, सरकार फेरियो र धेरै नेता फेरियो तर तराई मधेसको विकास जनताले अनुभुति हुने गरि अझै फेरिएन । पहाडिया नेताले ध्यान दिएनन भनेर मधेसको लागि मधेसकै धेरै नेता आए, मन्त्री भए, राष्ट्रपति पनि भए तर तराई मधेसका जनताको समस्या ज्यूँका त्यूँ छ । समग्र तराई भूगोलको विकास भएन, नेताको मात्रै विकास भयो । विकासमा चरम भ्रष्टाचार छ, राजनीतिमा अपराधिकरण अचाक्ली बढेको छ । जनता बोल्न सक्दैनन, सरकारी निकाय प्रायः मौनन नै बसिदिन्छन । यसरी मौन अब कहिलेसम्म बस्ने ?
देशको सुगम भौगोलिक क्षेत्र भित्र पर्ने तराई मधेस क्षेत्र उत्पादन र विकास गतिविधिको हिसावले अत्यन्त सुगम क्षेत्रको रुपमा हेर्ने गरिन्छ । सामान्य प्रयत्नबाट पनि विकासका पूर्वाधार पु¥याउन सकिने र उत्पादनको हिसाबले स्वर्णिम भूमि हुँदाहुँदै पनि यो क्षेत्र यति धेरै पिछडिनुको कारण के होला ? अब सबैको खोजीको विषय हुनुपर्ने भएको छ । मधेसको नाममा राजनीति गर्ने, पारिवारिक राजनीतिक पृष्ठभूमिका मधेसवादी दलहरुको सोच अनुसार मधेसलाई अधिकार चाहिएको छ । पहाडियाहरुबाट मधेस हेपिएको छ, पेलिएको छ, इत्यादि भन्ने गरिन्छ ।
अब सोचौं मधेसको नाममा राजनीति हुन थालेको पनि करीव ३० वर्ष बितिसक्यो । यो ३० वर्षमा मधेसका अगुवाहरुलाई नेपालले विभिन्न शक्ति केन्द्रदेखि लिएर सरकार, प्रधानन्यायाधिश अनि राष्ट्रपति समेत बनाइसक्यो । परिवार भित्रै श्रीमान श्रीमती सांसद बन्नेदेखि लिएर पार्टी पंक्ति नै एकल रुपमा संचालन गरेर उच्चतम राजनीतिक दल समेत मधेसले प्राप्त गरिसक्यो । श्रीमती सांसद बन्दा श्रीमान स्वकीय सचिव बसेको पनि मधेस वादी दलमा देखिएकै छ ।
ठूलाठूला ठेक्कापटृादेखि लिएर आफ्नो क्षेत्र भित्रका सम्पूर्ण विकास खर्चमा एकलौटी जनाधिकार पनि मधेसले प्राप्त गरिसक्यो । तर यी सबै कुराहरुको प्रतिफल के जनताले उपयोग गर्न पाइरहेका छन् ? के मधेसका जनता खुशी छन ? जनता आफ्नो अधिकार प्रयोग गर्न सक्ने अवस्थामा छन ? यी सबै प्रश्नहरु केवल प्रश्नका लागि प्रश्न मात्रै हो ।
मधेस भित्रै अझै आन्तरिक रुपमै उकुसमुकुस भएर बस्नुपर्ने अवस्था छ । आफूले नै बनाएको ठूलाठालुबाट शोषित पीडित हुनुपर्ने अवस्था अहिले पनि छ । विरोध गर्ने व्यक्ति वा समूहको भविष्य अनिश्चित हुने क्रम अहिले पनि छ । भ्रष्टाचार गुण्डागर्दी गाउँगाउँमा छ । सरकारी निकायहरुको काम कर्तव्य नाम मात्रको बनेको छ । चित्त नबुझेको कुरा बोल्ने जनतालाई अहिले पनि उठिबास लगाइन्छ ।
यस्ता थुप्रै बिसंगतिहरु झेल्ने क्रममा अहिले पनि तराई मधेस अन्य भूभागको तुलनामा सर्वाधिक अग्रणी देखिएको छ । भएको अधिकार समेत प्रयोग गर्नबाट बन्चित यी जनतालाई अरु थप अधिकार चाहिएको भनेर मधेसवादी दलहरुले माग्ने गरेको अधिकार चाहीं के हो ? अहिले नाम मात्रको रहेको सरकारी संयन्त्र र त्यो मार्फत मधेसी जनताले गर्ने बाह्य सम्पर्कलाई समेत निस्तेज गर्दै जनतालाई अधिकारको नाममा अरु जकड्याउन खोजेको त होइन ? भएको अधिकार प्रयोग गर्नबाट बन्चित गर्न खौज्ने मधेसवादी दलको गतिविधि हेर्दा मधेसी नेतृत्वबाट अरु प्रगति होला र मधेसी जनतालाई प्रगतिको बाटोमा हिंडाउलान भनेर सोच्नु दिवा सपना बाहेक केही होइन भन्ने देखिंदै आएको छ ।
मधेसी जनताको गरिबीलाई देखाएर राजनीतिको शीखरमा पुग्न सफल मधेसवादी दलहरुको दिनचर्या भनेको चाहंीं मधेसको भन्दा बढी भारतीय चासोमा केन्द्रित हुने गरेको छ । बेलाबेलामा लाइन लागेर गरिएका लालुप्रसाद यादवदेखि मुलायम सिंहसम्मलाई भेट्ने ताँती देख्दा यी सबै नेताहरु लालुप्रसादकै प्रगति पथमा केन्द्रित त छैनन् ? बिहारसँग नजिक रहेको हाम्रो मधेसको राजनीतिक संस्कार कहीं बिहारसंगै तारतम्य मिलाई रहेको त छैन ? जसरी बिहारमा पत्रकारहरुलाई समेत राजनीतिक अगुवा र ठेकेदारको झोले बनाइन्छ, त्यस्तै प्रकारको संस्कार हाम्रो तराई मधेसमा देखिरहेको छ ।
रौतहटमा दर्जनौ मान्छे इटृा भटृामा पोलिंदा समेत समाचार बन्न सकेन । धनुषामा आफ्नो विरोधीलाई टिपरले किचेर मारेको समाचार १० वर्षपछि बाहिर आउँछ । अपराधीहरु सांसद मन्त्री जस्ता उच्च पदमा पुग्छन । दशौं वर्षसम्म निर्धक्क शासन सत्ता चलाउँछन । न पत्रकारले थाहा पाउँछ न मारिने व्यक्तिका परिवार बोल्छन, न कार्यरत सुरक्षा निकायले नै मुख खोल्छ, न न्यायालयबाट कुनै न्यायको भरोसायुक्त सन्देश नै प्राप्त हुन्छ ।
यस प्रकार जकडिएको बेथितिले मधेसलाई प्रगति पथमा अगाडि बढाउनको निमित्त यी माथि भनिएका कुनै पनि तह र तप्काले गर्न नसकिने निश्चित छ । अब टोलटोलमा जनता नै उठ्नु पर्ने अवस्था आएको छ । आफ्नो योजना, आफ्नो क्षेत्रको विकास र त्यसमा भएको राज्यको लगानी हाम्रो लागि हो भन्ने बोध गर्दै जनस्तरबाट नै जुझारु एकता सहितको हिसाब किताब हुनु जरुरी छ । डराएर होइन, यस्ता नेता र प्रतिनिधिसंग डटेर मात्र हाम्रो विकास हुन सक्छ भन्ने सोच बनाउन जरुरत छ ।
नेताको मुख ताकेर होइन, आफ्नै खुटृामा टेकेर मात्र आफ्नो विकास, गाउँको विकास र देशको विकास हुनसक्छ भन्ने कुराको बोध गर्दै सम्पूर्ण मेधस क्षेत्र एकाकार हुनसक्यो भने, यो देशकै निमित्त सुखद क्षण हुनसक्छ । भ्रष्टको संरक्षण नगरौं, संगठित बनौं, विकृति र बिसगंतिको डटेर सामना गरौं ।