काठमाडौं, २४ साउन । मकैं ,कोदो ,फल्ने सुख्खा बारीको काल्लामा रहेको एउटा रुखले हजार होईन, लाखौं कमाई हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यतिबेला बोधिचित्त माला आम्दानीको राम्रो स्रोत बनिरहेको छ । काभ्रे र रामेछापका कृषकहरुले बोधिचित्त खेतीबाट राम्रो गरीरहेको बेला बागलुङका कृषकले पनि बाधिचित्तको खेती शुरु गरेका छन् ।
एउटै रुखबाट लाखौं रुपैयाँ आम्दानी लिन सकिने बोधिचित्तको बागलुङमा पहिलो पटक व्यावसायीक खेती थालिएको छ । काभ्रेपलान्चोक र रामेछापमा बोधिचित्तको खेती आम्दानीको गज्जबको श्रोत बनेपछि बागलुङ नगरपालिका–९ तित्याङमा पनि बोधिचित्तको खेती हुन थालेको हो । विश्वकै एकमात्र वनस्पति बोधिचित्त वनस्पतीको जिल्लामा पहिलो पटक व्यवसायीक खेती सुरु गरिएको हो ।
हाल ४ रोपनी जग्गामा ५० वटा वोधिचित्तका बेर्ना रोपिएकोमा ४० वटाले फल दिन सुरु गरेको छ । बोधिचित्त माला तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने गरेको छ । बोधिचित्त मालाको बिरुवा समशितोष्ण भू–भाग ४ सय मिटरदेखि २ हजारमिटर सम्मको उचाईमा लगाउन सकिन्छ । व्यवसायीक खेती शुरु गरिएपनि यसको लाभको विषयमा बागलुङका कृषक प्रतिक्षामा छन् ।
बौद्ध धर्मालम्बीहरुले मालाको लागि प्रयोग गर्ने यो बुद्वचित्त प्राय गरि तिब्बत निकास हुने बताइन्छ । खास गरी परापूर्वकालदेखि काभ्रेको तिमाल क्षेत्रमा मात्र यसको बिरुवा पाइने गर्दछ । पछिल्लो समयमा चीन , जापान ,भारत, सिंगापुर, र कोरिया लगायतका देशमा समेत बोधिचित्तको माग बढेर गएपछि यसको नेपालमा व्यवसायीक खेती हुन थालेको हो । हाल रुखमा फल आएको अनुसार ३ देखि ७ मुखे सम्मको मूल्य प्रति गोटा रु. ४ सय देखि ४ लाख सम्म पर्दछ ।
त्यसै गरी दुई मुखे मालाको आकार मुल्य हुन्छ । ७ मिमी को १ सय ८ गेडा सहितको माला रु. ४ लाखभन्दा बढी पर्छ । आकार बढेसँगै मूल्य कम हँुदे जान्छ । सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई व्यवहारिक रुपमा देखाउन पनि यस्ता बहुमूल्य वनस्पतिको खेती शुरु गरि रोजगारी बढाउन सकिन्छ ।