चितवन,१० साउन । चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङहरुको अहिले बिचल्ली भएको छ । भएको घर खरानीमा परिणत भएपछि उनीहरु घरबारबिहीन बनेका छन् । चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सहितले आगो लगाएपछि उनीहरुको बिचल्ली भएको हो ।
गएको शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले चितवनको कुसुम खोलामा बस्दै आएको चेपाङ समुदायका २ वटा घरमा आगो लगाई दिए । वर्षाको समयमा ओतलाग्ने घर नै नरहेपछि ती चेपाङहरु विचल्लीमा परेका छन् ।
सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा ओत लाग्न बाध्य छन् । कोरोना भाईरसका कारण विद्यालयहरु बन्द रहेकाले उनीहरु विद्यालयमा बस्न पाएका छन् तर विद्यालयमा अध्ययन सुरु हुन थालेपछि भने उनीहरु झन समस्यामा पर्ने देखिन्छ ।
निकुञ्जका कर्मचारीले २ घरमा आगो लगाइ दिए र अन्य घरहरु र खेतीबालीमा हात्ती लगाएर नष्ट गरिएको छ । स्थानीयहरु बिचल्ली हुनेगरी घरमा आगजनी गर्ने र खेतीबाली नष्ट गर्ने भएको भन्दै माडी नगरपालिकाको पहलमा छानबिन सुरु भएको छ ।
निकुञ्जले कुनै पनि समन्वय नगरी स्थानीयका घर भत्काउने कार्य गरिएकोले संलग्नलाई कार्वाही हुने भएको छ । निकुञ्जले जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई ठाउँ खाली गर्न भनिएको अटेर गरेका कारण फुसको झुप्रोहरु हटाइएको बताएको छ ।
स्थानीयले आरोप लगाएजस्तो आगजनी नगरिएको निकुञ्जको दाबी छ । निकुञ्जले जेसुकै तर्क गरेपनि चेपाङ समुदायको ओत लाग्ने एकमात्र सहारा तिनै झुप्रो थियो । घटनाको बिषयमा छानबिन गर्न वन मन्त्रालयका सह सचिव यज्ञनाथ दहाल नेतृत्वको टोली शुक्रबार चितवनको कुसुम खोला पुगेर स्थलगत निरिक्षण गरेको छ ।
सरकारी अध्ययन टोलीले स्थलगत अध्ययन त गरेको छ, तर, निमुखा चेपाङ समुदायलाई न्याय दिन सक्ला या नसक्ला त्यो भाविले बताउनेछ ।