सार्वभौम नेपालको चुनौती खुल्ला भारतीय सिमाना (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

सार्वभौम नेपालको चुनौती खुल्ला भारतीय सिमाना (भिडियोसहित)

kalapani

काठमाडौं, ८ साउन । नेपाल भारतबीच विभिन्न समयमा भएका सन्धी सम्झौताहरुकै कारण नेपाल नाम मात्रको सार्वभौम देशको रुपमा परिचित हुँदै गएको देखिन्छ । देख्दाखेरी समान जस्ता देखिने थुप्रै सन्धी सम्झौताका प्रावधानहरु व्यवहारिक रुपमा भने, नेपालका लागि अत्यन्त प्रतिकूल र अत्यन्त आपत्तिजनक रुपमा रहेको स्पष्ट देखिन्छ । दुबै देशका जनतालाई एक अर्कामा समान व्यवहार गरिनेदेखि लिएर दुई देशबीचको सीमा क्षेत्रमा एक अर्कालाई अवरोध नगर्नेसम्मका प्रावधानहरु नेपालका लागि भने, अत्यन्त अव्यवहारिक र असन्तुलित छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको खुला सिमानाकै कारण नेपाललाई पिंध नभएको घडा जस्तो बनाएको छ । घडामा प्वाल मात्रै भइदिएको भए टाल्न सम्भव थियो होला, तर पिंध नै नभएपछि त्यो घडामा पानी अडिने सम्भावना नै भएन । आज नेपालको आर्थिक दुर्गतीको कारण सतप्रतिशत यही भएकोमा प्रायः अर्थविदहरुको पूर्ण सहमति रहेको देखिन्छ । सबैजसो कम्युनिष्ट घटकहरुले सत्तामा जानु भन्दा पहिला यो विषयलाई राम्रैसँग उठाउने गरिएको देखिएतापनि सत्तामा गएपछि भने, भारतीयकै हो मा हो मिलाउँदै यी असमान रहेका सन्धी सम्झौताहरुको सन्दर्भमा छलफल समेत गर्न नसक्ने अवस्थामा नेतृत्व पुगेको देखिन्छ ।

नेपाली प्रेसमा यदाकदा चर्चा हुने बाहेक दुई पक्षबीचमा भने, खासै प्रगतिको झलक देख्न सकिंदैन । भारतीय नाकाबन्दीको मनोवैज्ञानिक त्रास देखाउँदै संधैभरि कुटनैतिक चुप्लुसीमा मात्र केन्द्रित सबै प्रकारका सत्ताले एउटा के कुरा बुझ्न सकेन भने, जुन दिनदेखि भारतले नेपाललाई पूर्ण रुपमा नाकाबन्दी गर्छ, त्यसै दिनदेखि आर्थिक उन्नती र विकासले गति प्राप्त गर्दछ र नेपाल समृद्धिको प्रगति पथमा अगाडि बढ्न सक्छ । आज नेपालले हरेक समस्या खुला सीमाना कै कारणले भोग्नु परिरहेको वास्तविकतालाई नजरअन्दाज गरियो भने, अझै पनि नेपालको थुप्रै पुस्ताले विकास र प्रगतिको मुख हेर्न पाउने छैनन् ।

खुल्ला सीमानाकै कारण नेपाल सरकारले दिएको विकासे अनुदान भारत पुग्छ । नेपालका कृषि उपजहरु कौडीको भाउमा भारत पुग्छ । नेपालका ठूला सहरहरु भन्दा पनि ठूला भारतीय सहरहरु नेपालबाट गरिदिने व्यापारमा आश्रित छन् । यस्ता प्रकारका थुप्रै आर्थिक क्रियाकलापहरु नेपाल सरकारको पहुँच भन्दा बाहिर रहने गरेबाट राजश्वमा समेत कुनै योगदान छैन । कर रहित सामान विदेश जान्छ, सम्पूर्ण करसहितको तयारी सामान नेपाल भित्रिन्छ । यो सीमा क्षेत्रको मात्रै कुरा भयो । पूरा देशले भारतीय सामान कति खपत गरिहेको छ ? भन्नेबारेमा त स्पष्ट डाटा समेत पाउन सकिंदैन होला ।

सानो देश नेपालको प्रायः सबै असंगठित क्षेत्रका कामदारदेखि संगठित क्षेत्रका उद्योग व्यवसायमा समेत कार्यरत जनशक्तिलाई देख्दा, नेपालमा रोजगारीको क्षेत्र दिनप्रतिदिन सीमित हुँदै गएको निष्कर्षमा पुग्न गाह्रो छैन । त्यसैले यी सम्पूर्ण विसंगतिको आधार खुला सीमा क्षेत्र नै रहेबाट अब ढिला नगरीकन नेपाल सरकारले यथाशीघ्र सीमा बन्द गर्नेतर्फ सोच्नु नै राष्ट्रको लागि सबैभन्दा ठूलो विकास हो भनेर सोच्नुपर्ने बेला आएको छ । नेकपाकी महिला नेतृ सांसद पम्फा भुसालद्वारा संसदमा नेपाल भारत सीमालाई लिएर उठाइएको आवाजसँगै संसद प्रवेश गरेको सीमा विषयलाई गम्भीरताका साथ लिन सकियो भने, यो नै नेपालको लागि सबैभन्दा ठूलो बरदान सिद्ध हुनसक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलै भएपनि शुरु गर्नु भएको राष्ट्रियता सम्बन्धी अभियानमा यो विषय समेटिएला कि नसमेटिएला ? जनता उत्सुकताकासाथ हेरिरहेका छन् । यदि प्रधानमन्त्रीले यो विषयलाई गम्भीरताका साथ लिन सक्नु भयो र स्पष्ट अडानका साथ कार्यान्वयनमा लैजाने हिम्मत गर्नु भयो भने, उहाँको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्न सक्ने छैनन् । पिंध नभएको घडामा साधन र श्रोतको वर्षात गराएर घडा भरिन्छ भनेर सोच्नु जति मूर्खता हो, त्यति नै सीमा बन्दन बिनाको देशलाई साधन श्रोत सम्पन्न गराउँछु र विकसित गर्छु भन्नु पनि मूर्खता नै हो ।

थुप्रै सम्भावनाले भरिपूर्ण नेपाल विकसित हुन नसक्नुका पछाडि एउटै मात्र कारण खुला सीमाना नै हो । निष्कर्ष यही हो । यो निष्कर्षमा नेतृत्व पुगेको दिन सम्पूर्ण नेपालीले नेपालको विकास आफैं गर्र्नेछन् । बाहिरको खाद्यन्न आयात गरेर खाने होइन, आफ्नो उत्पादन विदेश पठाउन नेपाली नै सक्षम छन । त्याग र मिहिनेत गर्न नेपालीलाई कसैले सिकाउनु पर्दैन । संधैभरि छिमेकीको चाकडी र चाप्लुसीमा लिप्त रहने सरकार र नेतृत्वबाट पीडित रहेका नेपालीलाई आफ्नो देश र धर्ती भित्र उन्मुक्त अवसर दिन सकियो भने नेताहरुबाट हुने सानातिना भ्रष्टाचार सजिलै पचाइ दिन सक्छन ।

विदेशीसंग अनुदान माग्नु पर्ने अवस्थालाई नेपाली जनताले सजिलै बिदाइ गरिदिन सक्छन । आफ्नो देशको विकास आफ्नै बल र पौरखले गर्न भरपूर रुपमा नेपाली जनताले आफ्ना पूर्खाबाट सिकेका छन् । मागेर ल्याएको मिठो मसिनोले चाडवाड मान्ने नेपालीको विरासत कहिल्यै छैन । मागेर होइन, दिएर आत्मसन्तुष्टि प्राप्त गर्ने हाम्रो गौरव गाथा सबै नेपालीको रौ रौंमा अन्तरनिहित छ । मात्र आज सही मार्गदर्शक नेतृत्वको खांचो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);